पुस्तक तथा स्टेशनरी व्यवसाय मर्यादित पेशा हो : मेयर आचार्य

-



     आरजू बिष्ट सल्यानी    
     माघ २० गते २०८० मा प्रकाशित



पोखरा, २० माघ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पुस्तक तथा स्टेशनरी व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन अति आवश्यक भएको बताएका छन् ।

यो क्षेत्र शैक्षिक सेवासंग जोडिएको र सेवामूलक संस्था तथा व्यावसायीक संस्था पनि हो । यो पेशालाई अनुशासित र मर्यादित बनाउनु पर्छ ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेशको ५औं साधारण सभा तथा तेश्रो अधिवेशनलाई आज संवोधन गर्दै प्रमुख अतिथि मेयर आचार्यले भने यो राजनीतिक संस्था नभएकोले नेतृत्व चयनमा पनि मत मतान्तरको स्थिति आउन नदिन अनुरोध गरे ।

जमाना प्रविधिको आएको छ । हामी अब पुरानै ढाँचा चल्ने हो भने पछि परिन्छ । संस्थाका पूर्व अध्यक्ष समेत रहेका मेयर आचार्यले भने, यो संस्थाले पढ्ने, पढाउने प्रणाली विकासमा जोड दिनुपर्छ । समय ई बुक पढ्ने, सुन्ने र हेर्ने आईसकेकोले यस खालको व्यवस्थापकिय कार्यदिशा बनाउनु पर्ने बताए ।

कार्यक्रमका विशिष्टि अतिथि महासंघका केन्द्रीय अध्यक्ष संजयकुमार चौधरीले मेचिकाली भ्रमण गरेर व्यवसायीका समस्या बुझ्ने काम भएको बताए । बैंक व्याजले थिलोथिलो बनाएको र आय आर्जनमा असर परेकोमा चिन्ता व्यक्त गरे । अध्यक्ष चौधरीले नेतृत्वमा गएपछि सरकारी पाठ्यपुस्तक समयमा पुर्याउन सकिएको र यस वर्ष पनि सोहि परिवेश हुने बताए । उनले व्यवसायीलाई भैपरि आउने समस्याको परिपूरणका लागि वीमा गर्न सबैलाई आग्रह गरे ।

महासंघले व्यवसायीको लागि परामर्श, नीति नियमको जानकारी गराउने, नयाँ अवसरको सिर्जना र विद्यालय हाताबाट पुस्तकको बिक्रीवितरण गर्ने कार्यलाई रोक्न पहल भएको बताए । सो अवसरमा उनले आफ्नै भवन निर्माणको लागि जग्गा उपलव्ध हुन लागेकाेले छिट्टै बहुउदेश्यीय भवन बन्नेमा ढुक्क हुन आग्रह गरे ।

पुस्तक नीति व्यवसायी अनुकुलको नभए नमान्ने बताउदै चौधरीले परिमार्जनकाे खाँचो औंल्याए । उनले छिट्टै मकालीबाट ३० दिने घुम्ति पुस्तकालय संचालन गरिने जानकारी दिए ।

कार्यक्रममा वरिष्ठ केन्द्रीय उपाध्यक्ष दिवाकर घिमिरे, सचिव शकुन्तला शर्मा, केन्द्रीय सदस्य मोहनप्रसाद सापकोटा, गण्डकी प्रदेश सल्लाहकार समितिका सभापति ऋषिराम शर्मा भण्डारी, गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष दुर्गा श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका सदस्य भरत कुमार श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्य, जिल्लाका तर्फबाट रामचन्द्र सापकोटा तनहुँ, प्रतिनिधिको तर्फबाट दितिय उपाध्यक्ष कास्की, ध्रुव पोखरेल र सम्मानित व्यक्तिको तर्फबाट गोवपाल ध्वजुले पुस्तक व्यवसायीको हकहित रक्षाका बारेमा बोलेका थिए ।

कास्की जिल्ला कमिटिले व्यवस्थापन गरेको कार्यक्रममा नेपालमै पहिले पटक कास्कीबाट पुस्तक व्यवसायको संस्था खोल्न योगदान दिएका संस्थापक अध्यक्ष गोपाल ध्वजु, म्याग्दी जिल्लाका संस्थापक अध्यक्ष सुदर्शनकुमार श्रेष्ठलाई सम्मान गरिएको सचिव संजय आचार्यले बताए ।

यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमध्ये उत्कृष्ट कार्य गर्ने जिल्लाको रुपमा जिल्ला शाखा कास्की, चौथो साधारण सभा भव्य रुपमा सम्पन्न गरेकोमा जिल्ला शाखा तनहुँलाई प्रमुख अतिथि मेयर आचार्यले सम्मान गरे ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसयाी महासंघ गण्डकीका अध्यक्ष लिलाराम गौतमको अध्यक्षतामा भएको कार्यक्रमको औपचारिक पहिलो सत्रको कार्यक्रम सचिव कृष्णप्रसाद पोखरेलले संचालन गरेका थिए भने समापन वरिष्ठ उपाध्यक्ष देवलाल काफ्लेले गरेका थिए ।

तेश्रो अधिवेशनले नयाँ कार्य समिति चयन गर्ने कार्यक्रम व्यवस्थापन गरेको महासंघ कास्कीका कोषाध्यक्ष सूर्यमोहन आचार्यले बताए ।