नेप्सेमा ५.७४ अंकको बृद्धि, ३ अर्ब २१ करोडको कारोबार

-



     सफल आवाज    
     माघ २५ गते २०८० मा प्रकाशित



काठमाडौं, २५ माघ । साताको सेयर कारोबार हुने पाँचौं तथा अन्तिम दिन बिहिबार नेपाली सेयर बजारमा सामान्य अंकको बृद्धि देखिएको छ ।

यतिबेला नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन हुने गरी चालु आर्थिक वर्षको मौद्रिक नीतिकाे अर्धवार्षिक समीक्षाको तयारी गरिरहँदा लगानीकर्ताहरू सकारात्मक अपेक्षामा छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा अर्थमन्त्री डा प्रकाशसरण महतले बजारको अपेक्षा अनुसारको नीति अवलम्वनका लागि राष्ट्र बैंकलाई सुझाउँदै आईरहँदा त्यसको सकारात्मक प्रभाव अर्थ बजारमा देखिएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५.७४ अंकले बढेर २०९६.३८ विन्दुमा चढेको छ । नेप्सेमा ०.२७ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.६७ अंकले बढेर ३७८.६४ विन्दुमामा पुगेको छ ।

१३ समूहहरुमध्ये ४ वटामा रातो लागेको छ । बाँकी रहेका ६ वटामा हरियो लागेको छ । यसदिन कुल ३१७ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको ९१ लाख ७१ हजार ७१० कित्ता सेयरको खरिदबिक्रीबाट ३ अर्ब २१ करोड २२ लाख ८३ हजार ४५३ रुपैयाँ ६३ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको १८ करोड ८७ लाख ९० हजार २५२ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ को सेयरमूल्य घटेको छ । सो स्किमको सेयरमूल्य ९.९७ प्रतिशतले घटेको छ ।