राष्ट्रिय वाणिज्य बैंकले ल्यायाे ‘मेरो घर कर्जा’ योजना

-



     सफल आवाज    
     माघ २८ गते २०८० मा प्रकाशित



काठमाडौं, २८ माघ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले एकल ब्याजदरमा ‘मेरो घर कर्जा’ योजना ल्याएको छ । बैंकले उपभोक्ता कर्जा निर्देशिका, २०७७ बमोजिम मेरो घर कर्जा योजना ल्याएको हो ।

घर खरिद, घर निर्माण तथा जग्गा खरीद गर्नका लागि अधिकतम ५ करोड रुपैंयासम्म बेसरेट (आधार दर) मा १.२० प्रतिशत प्रिमियम जोडेर बैंकले कर्जा दिने बैकले जनाएको छ । हाल बैंकको बेसरेट ८.२५ प्रतिशत छ । यसमा १.२० प्रतिशत प्रिमियम जोड्दा वार्षिक ९.४५ प्रतिशत ब्याजदर उक्त कर्जा पाईने बताइएकाे छ ।

बैंकका अनुसार कर्जा प्रशोधन तथा सेवा शुल्क एकपटकका लागि कर्जा रकमको ०.२५ प्रतिशत लाग्नेछ । कर्जा रकम मासिक किस्ताबन्दीमा भुक्तानी गर्ने गरी अधिकतम २० वर्षका लागि प्रदान गरिने बैंकले जनाएको छ ।

उक्त कर्जा बैंकका देशभर रहेका सम्पूर्ण शाखा कार्यालयबाट लिन सकिने बैंकले जनाएको छ । हाल बैंकको सातै प्रदेश र ७७ वटै जिल्लामा २८६ शाखा, ३०५ एटिएम र ७० वटा एक्स्टेन्सन काउन्टर रहेका छन् ।