खराब कर्जा बढेपछि एनआईसी एसिया बैंक समस्यामा पर्ने सम्भावना

-



     सफल आवाज    
     माघ २९ गते २०८० मा प्रकाशित



काठमाडौं, २९ माघ। पछिल्लो समय अस्वभाबिक रूपमा खराब कर्जा बढेपछि एनआईसी एसिया बैंक समस्यामा पर्ने सम्भावना देखिएकाे छ । चालु आर्थिक वर्षको ६ महिनाकाे अवघिमा बैंकको खराब कर्जा अत्याधिक रूपमा बढेकाे रिपाेर्टले देखाएकाे छ ।

 यस अवधिमा बैंकको निष्क्रिय कर्जाको दर ०.६१ प्रतिशतबाट बृद्दि भइ १.१९ प्रतिशत पुगेको छ । वित्तीय बिबरण अनुसार बैंकले पुस मसान्तसम्म ३ खर्ब ८१ अर्ब निक्षेप संकलन गरेकाे छ भने २ खर्ब ९३ अर्ब कर्जा प्रवाह गरेको देखिन्छ । तर सो मध्ये ३ अर्ब ४८ करोड रुपैयाँ माथिको लगानी खराब कर्जामा रूपान्तरण भएको छ । जसका कारण बैंकको खुद नाफासँगै वितरणयोग्य मुनाफा समेत प्रभावित बन्न पुगेको छ ।

हाल बैंकसँग ३ अर्ब ४७ करोड ५० लाख रुपैयाँ हाराहारीकाे धितो रहेको छ । पटकपटक लिलामीमा जाँदा समेत धितो लिलाम बिक्री गर्न नसकेको बैंकले खराब कर्जाको व्यवस्थापनकै लागि चालु आर्थिक वर्षमा ५ अर्ब ६२ करोड ९० लाख बराबरकाे लोन लस्ट प्रोभिजन गर्न बैक बाध्य भएको देखिन्छ । 

अघिल्लो वर्षकाे पुस मसान्तमा ३ अर्ब २७ करोड ३३ लाख खुद नाफा आर्जन गरेको बैंकले यो वर्ष कमजोर ब्यबस्थापनका कारण ४१.८४ प्रतिशतले नाफा गुमाएकाे देखिन्छ । खुद ब्याज आम्दानी, सञ्चालन मुनाफासहित अन्य आम्दनीका स्रोतहरु गुमेको बैंकको ईपीएस समेत खुम्चिएको छ ।

बैककाे वित्तीय बिबरण अनुसार समीक्षा अवधिमा खुद ब्याज आम्दानी १०.१३ प्रतिशतले घटेकोमा सञ्चालन मुनाफा २४.१३ प्रतिशतले घटेको छ । बैंकको प्रतिसेयर आम्दानी समेत ५४.९२ प्रतिशतले घट्न पुगेको छ । बैंकको वितरणयोग्य मुनाफा ५९ करोड २२ लाख रुपैयाँले ऋणात्मक बनेको छ ।

एक्कासी खराब कर्जा बढेर एनआईसी एसिया बैंक समस्यामा पर्ने सम्भावना देखिएपछि केन्द्रीय बैकले निगरानी बढाएकाे बुझिएकाे छ । नेपाल राष्ट्र बैक स्राेतका अनुसार बैकका धेरै सुचकहरू नकारात्मक देखिएपछि एनआईसी एसिया बैकसंग छलफल भइरहेकाे बताइएकाे छ ।

पछिल्लो समय एनआईसी एशिया बैंकका बिजनेस रणनीतिहरु असफल हुन थालेपछि बैंकको उच्च व्यवस्थापनलाइ दबाब परेकाे छ। यता राष्ट्र बैंक र सञ्चालक समितिलाई झुक्याएर गलत वित्तीय बिबरण सार्वजनिक गरेपछि ब्यवस्थापन र संचालक समितिबीच दुरी बढेकाे छ।