हिमालयन रि इन्स्योरेन्सको आम्दानी र खुद मुनाफा बढ्याे

-



     सफल आवाज    
     माघ २९ गते २०८० मा प्रकाशित



काठमाडौं, २९ माघ । हिमालयन रि इन्स्योरेन्सको आम्दानी र खुद मुनाफा बढेकाे छ। कंपनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरण अनुसार आम्दानीमा करिब ९३ प्रतिशत र खुद नाफा करिब १०० प्रतिशत भएकाे देखिएकाे छ ।

कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्ममा २ अर्ब ४६ करोड ९६ लाख ३२ हजार आम्दानी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले १ अर्ब २८ करोड ६ लाख ६२ हजार मात्र आम्दानी गरेको थियाे।

आम्दानी बढेसँगै खुद नाफा ९९.७३ प्रतिशतले बढेको छ । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले ३० करोड १७ लाख रुपैयाँ नाफा कमाएको थियो भने चालु आवको सोही अवधिमा ६० करोड २७ लाख रुपैयाँ खुद नाफा गरेको छ।

कंपनीकाे कुल आर्जित बीमाशुल्क १५४.६५ प्रतिशतले बढेर १ अर्ब ९९ करोड ६० लाख ५१ हजार कायम भएको छ । कुल दाबी भुक्तानी ५०.९० प्रतिशतले बढेर ७३ करोड १५ लाख ४३ हजार पुगेको छ।

पुस मसान्तसम्ममा कम्पनीको कुल खर्च ८९.३५ प्रतिशतले बढेर १ अर्ब ६० करोड ८६ लाख पुगेको छ । ६ महिनामा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ८२ पैसाले बढेर १२ रुपैयाँ ५ पैसा कायम भएको छ।

६ महिनामा कम्पनीको मूल्य आम्दानी अनुपात ४१.३१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ३० पैसा रहेको बित्तीय बिबरणमा उल्लेख छ।