उद्योगि, व्यवसायीबिना अर्थतन्त्र सबल हुन सक्दैन : अध्यक्ष पन्त

- साढे १ करोड लागतकाे औद्योगिक सचिवालय तथा सूचना केन्द्र शिलान्यास

-



     आरजू बिष्ट सल्यानी    
     फागुन २ गते २०८० मा प्रकाशित



पोखरा, २ फागुन । पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष बाबुराम पन्तले उद्योगि, व्यवसायीबिना राज्यको अर्थतन्त्र बलियो हुन नसक्ने बताएका छन् ।

पोखरा औद्योगिक क्षेत्र उद्योग संघको २१ औं वार्षिक साधारण सभालाई संवोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि पन्तले उद्योगी, व्यवसायी सबल र सक्षम हुनुपर्ने बताए ।

उद्योगी, व्यवसायी पूजनीय व्यक्ति हुन् । उनीहरुले विविध समस्याहरु झेल्दै आएको वर्षौं भईसकेको छ । विविध घटनाक्रमहरुले असर गरिरहेको छ । तर पनि समस्याहरुबीच व्यवसायलाई थेगिरहेका छन् । अध्यक्ष पन्तले भने, जति निरासा व्यक्त गरेपनि आत्मसन्तोष लिने ठाउँ छ । आत्तिनु हुँदैन । पूजनीय व्यक्तिहरु अँझैं अगाडी बढेको म हेर्न चाहन्छु ।

सम्पती करको विषयलाई लिएर व्यवसायीहरु मर्कामा परेको कुरामा आफु ज्ञात रहेको र यसका बारेमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यसंग छलफल गरिने जानकारी दिए । औद्योगिक क्षेत्र राज्यको जमिन हो । तर यो क्षेत्र महानगरभित्र रहेकोले महानगरले करको लागि ताकेता गरेको छ । यसलाई टुंगोमा जसरी पुर्याउनु पर्छ, म पहल गर्छु ।

पन्तले संघले आफुबाटै शिलान्यास गराएको सचिवालय तथा औद्योगिक सूचना केन्द्र रहने भवनको लागि लिमिटेडको तर्फबाट सकेको बजेट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । सो अवसरमा उनले उद्योगीहरुलाई उद्योग क्षेत्रमा भएका समस्याहरु र तिनीहरुको समाधानका उपाएहरुको लागि प्रष्ट भएर सुझाव संकलन गर्न सुझाए । उनले केहि उद्योगीले तिर्नुपर्ने बक्यौता बाँकी रहेकोले सो रकम नतिरेमा कारबाही गरिने चेतावनि दिए । उनले भने, हामी सबै अनुशासनको दायरामा रहनुपर्छ ।

उद्योग सचिव कुमानसिंह गुरुङले उद्योगीहरुका समस्याहरुको बारेमा आफुहरु जानकार रहेको बताउँदै मन्त्रालयबाट रेफ्रिको काम हुनेमा ढुक्क हुन आग्रह गरे । गुरुङले भने, तपाँइहरुको लागि हामी इम्पावर गर्न तयार छौं, सहजिकरण गर्छौं र तपाँईहरुबाट आएका सुझावहरुलाई कार्यान्वयनको चरणमा लैजान तत्पर छौं ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले अहिलेको समयमा उद्योग संचालन गर्न सजिलो नभएको बताए । हामीलाई घाटा होस् वा नाफा कर तिर्नै पर्छ । तर समस्या के परेको छ भनेर सोध्ने र निराकरण गर्ने कोहि छैन । उनले भने, कति अड्डा अदालत मात्र धाउने ? काम छोडिछोडि कहाँकहाँ धर्ना दिने ?

हामीलाई मैत्रीपूर्ण व्यवहार छैन । लोन लिन गयो भने पाउन पनि गाह्रो छ तर बैंकमा पैसाको थुप्रो लागेको छ । सरकारको जमिनमा उद्योग संचालन गरिरहँदा त्यहि धितो राखे लोन पाउने व्यवस्था नहुनु दुखद् भएको बताए ।

नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष रामहिरा पाठकले राज्यका निकायहरुको व्यवहारले गर्दा बिरक्त लाग्ने गरेको बताए । हामीले के पाप गरेका रहेछौं कुन्नि । पुर्नजन्मको पाप भोग्नु परेको जस्तो हुन्छ । पाठकले भने, समस्या जस्ताको तस्तै छन् । धाको धाई गर्नु पर्या छ ।

करका ढोकाहरु अनेकअनेक छन् । कमसेकम एकद्वार प्रणालीमा भएको भए त सास्ति त हुन्थेन नि । यो देशमा उद्योग गर्न आउनु भनेको पाप कटाउन आएको भईएको छ । अध्यक्ष पाठकले अब केन्द्र सरकारले स्थानीय सरकारलाई हस्तक्षेप गर्नुपर्ने र करको हैरानिलाई हटाउनु पर्ने सुझाए ।

संघका अध्यक्ष रुद्रलाल श्रेष्ठले २०३१ सालमा स्थापना भएको पोखरा औद्योगिक क्षेत्रमा विभिन्न संघ, संस्थाहरु गरेर ८२ वटा रहेकोमा ७६ वटा उद्याेगमध्ये ७४ संचालनमा रहेका र दुई बन्द भएका बताए । उनले ३ हजारले रोजगारी पाएकाे जानकारी दिए ।

४७२.६८ रोपनी जग्गामा रहेको औद्योगिक क्षेत्रमा व्यवसायीले २५ अर्ब बढीको लगानी गरिसकेको बताए । वार्षिक १ अर्ब बढीको राजश्वको योगदान रहेको बताए ।

अध्यक्ष श्रेष्ठले उद्योग क्षेत्रको फोहर व्यवस्थापन राम्रो गरिएको, पक्कि बाटो, क्लिनीक संचालन तथा दिवा शिसु स्याहार केन्द्र संचालन गरिएको बताए । उनले छिट्टै मन्टेसरी कक्षा संचालनको सोंच गरिएको बताए ।

हामीले अब औद्योगिक क्षेत्रलाई अवलोकनको, अध्ययनको र रोजगार सिर्जना गर्नका लागि सिप विकासको क्षेत्रको रुपमा अगाडी बढ्नका लागि सचिवालय बनाउन लागेका छौं । श्रेष्ठले भने सचिवालयको भवन प्रदेशकै गरिमा बोकेको अध्ययनको केन्द्र हुनेछ ।

उद्योग परिसंघ गण्डकीका अध्यक्ष विनोदशर्मा न्यौपानेले उद्योग गर्न चाहनेका लागि, उद्यमशिलताको विकासका लागि संघले बनाउन लागेको सचिवालय भवनले सुखद सन्देश दिएको बताए ।

रोजगारी सिर्जना गर्न, आत्मनिर्भर बन्न, आर्थिक उन्नति गर्न र देशको अर्थतन्त्रलाई टेवा पुर्याउन औद्योगिक क्षेत्र खोलिएको हो । यसको प्रस्तावना हेर्दा नाचौं नाचौं लाग्ने खालको छ । तर व्यवसायीको हालत रुने स्थितिको छ । करोडौ लगानी भएको छ । कतिको डुबेको छ । कति पलायन भईसके । यहाँ भएकाहरुको लगानी जोखिममा रहेकाे छ ।

न्यौपानेले भने, घर घरमा सिंह दरबार आएको भन्थे तर हामीलाई त तरबार आएको भान पर्याछ । उनले स्थानिय सरकारको दाईंमा परिएको र करको ताकेताले उद्योगीलाई बिक्षिप्त बनाएको बताए । उनले २४ घन्टाको फगतको राजनीतिक भूमरिमा परेको कारण नेताहरूलाइ यतातिर ध्यान दिने फुर्सदै छैन भने। उनले ऋणको भारले थिचिरहेको र आफुहरुलाई पलायन हुनुपर्ने बाध्यता आएको बताए ।

साढे १ करोड लागतकाे औद्योगिक सचिवालय तथा सूचना केन्द्र शिलान्यास

बिहान संघको २१ औं अधिवेशनको उद्घाटन सत्रअघि संघको सचिवालय भवनको शिलान्यास गरिएको थियो । उक्त शिलान्यास औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष बाबुराम पन्तले गरेका थिए । यसको लागत साढे १ करोड रहने र भवन तीन तलाको बन्ने सो अवसरमा जानकारी दिईयो ।

कार्यक्रमको संचालन महासचिव फणिन्द्रराज शर्माले गरेका थिए । अध्यक्ष रुद्रलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सहभागिलाई अध्यक्ष रुद्रलाल श्रेष्ठले स्वागत गरेका थिए ।