मुक्तिनाथ विकास बैंकलाई राष्ट्र बैंकले गर्याे कारबाही

-



     सफल आवाज    
     फागुन ३ गते २०८० मा प्रकाशित



काठमाडौं, ३ फागुन । नेपाल राष्ट्र बैंकले मुक्तिनाथ विकास बैंकलाई कारबाही गरेको छ । याे विकास बैंकले ऋणी ग्राहक सदस्यको सामूहिक हित विपरीत खर्च गरेको भन्दै नियामक केन्द्रीय बैंकले कारबाही गरेको हो ।

मुक्तिनाथ विकास बैंकको सञ्चालक समिति, अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराइ कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।

‘संस्थाबाट व्यक्तिगत र सामुहिक जमानीमा प्रवाह भएको विपन्न वर्ग कर्जाका ग्राहकबाट शुल्क लिई खडा गरेको ग्राहक संरक्षण कोषमा जम्मा भएको रकम कम्पनी ऐनको दफा ९३, संस्थाको ग्राहक संरक्षण कोष सञ्चालन कार्यविधि, २०७९ तथा संस्थागत सुशासनको मर्म र भावना विपरीत निर्णय गरी ऋणी ग्राहक सदस्यको सामूहिक हित नहुने अन्य उद्देश्यमा खर्च गरेको पाइएको राष्ट्र बैंकले जनाएको छ ।

बैकले उक्त रकम पछि फिर्ता गरेको भनेता पनि नीति विपरित ग्राहक संरक्षण कोषको प्रयोगबाट वित्तीय संस्थाका निक्षेपकर्ता र सर्वसाधारणको हित विपरीतको कार्य भएको राष्ट्र बैंककाे दाबी छ ।