
बागलुङ, ४ फागुन । प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका मन्दिरमा चालु आर्थिक वर्षको ७ महिनामा १ करोड ७१ लाख भेटी सङ्कलन भएको छ । मन्दिर व्यवस्थापन समितिले सार्वजनिक गरेको आयव्ययमा १ करोड २८ लाख भने खर्च गरेको छ । सो अवधिमा मन्दिरले रु ४२ लाख बचत गरेको पाइएको छ । मन्दिर व्यवस्थापन समितिले भौतिक संरचनासमेत निर्माण गरेको छ ।
मन्दिरमा गत माघ महिनामा मात्रै रु १९ लाख ७२ हजार भेटी सङ्कलन भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए । मन्दिरको खर्चतर्फ हरेक महिना तलबमा रु तीन लाख ५७ हजार खर्च हुने गरेको हो । बडा दसैँ र चैते दसैँमा भने करारका थप कर्मचारी राख्नु पर्दा खर्च पनि बढ्ने अध्यक्ष खड्काको भनाइ छ ।
बडा दसैँ र चैते दसैँ भक्तजन बढी आउने भएकाले भेटी पनि अन्य महिनामा भन्दा बढी सङ्कलन हुने उनले बताए । मन्दिरमा चढाइने भेटीको दैनिक आम्दानी सार्वजनिक गरिँदै आइएको छ । व्यवस्थापन समितिले पछिल्लो दुइ वर्षमा चढाइएका सुनलगायत गरहना पनि सार्वजनिक गरेको छ ।
यस अवधिमा तीन तोला ४५ लाल सुन र तीन सय तोला ११ लाल चाँदी चढेको अध्यक्ष खड्का बताउनुहुन्छ । कालिका भगवती गुठी व्यवस्थापन समितिले मन्दिरमा चढेको गहना गालेर उक्त सुन र चाँदी तयार पारेको छ । खड्का अध्यक्ष भएपछि उक्त गहनासमेत सार्वजनिक भएको हो ।
खड्का २०७८ साल कात्तिक ८ गते अध्यक्ष नियुक्त हुनुभएको थियो । कालिका मन्दिरमा कतिपय भक्तजनले गरगहना बनाएर चढाउने गरेका छन् । नगद बाहेक चढाइने जिन्सीलाई नगदमा रुपान्तरण गर्न गहना गालेर एकमुष्ट बनाइएको अध्यक्ष खड्काले बताए । मन्दिर आसपासमा रहेका सटरबाट मन्दिरले मासिक ३ लाख १४ हजार भाडा असुल गर्दै आएको छ।
त्यसबाहेक मन्दिरमा चढाइने अक्षता, बोका तथा कुखुराको टाउकोबाट पनि कमाई हुने गरेको छ । परेवा उडाउनेले तिर्ने शुल्क, विवाह र व्रतबन्ध शुल्क, मन्दिरमा आउने पण्डितले बुझाउने दस्तुर समेतबाट आम्दानी बाँध्ने गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव निशान खड्काले जानकारी दिए ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




