बैकबाट कर्जा लिएपछि तिर्नुपर्छः कार्यबाहक गर्भनर ढुंगाना

-



     सफल आवाज    
     फागुन ६ गते २०८० मा प्रकाशित



काठमाडौं, ६ फागुन। नेपाल राष्ट्र बैंकका कार्यबाहक गर्भनर निलम ढुंगानाले बैक बित्तिय संस्थाबाट ऋण लिएपछि तिर्नुपर्ने बताएकी छिन्। महिला आर्थिक पत्रकार संघले आज आयोजना गरेको नीतिगत बहस कार्यक्रममा बोल्दै ढुंगानाले यस्तो बताएकी हुन्।

उनले समग्र अर्थतन्त्रमा समस्या आएको कारण बैंकमा पनि यसको समस्या देखिएको बताईन्। यद्यपी छिमेकी देशहरुको तुलनामा नेपलाको एनपिएल कम नै रहेको जानकारी गराईन।

नेपालमा वित्तीय क्षेत्रको आकार र पहुंच विस्तार भएको, निजी क्षेत्रमा जाने कर्जा विस्तार भएको र अर्थतन्त्रका अधिकांश सूचक सकरात्मक देखिएकाले बैंकिङ्ग क्षेत्रमा देखिएका समस्या पनि छिट्टै ठिक हुने बताईन। पूँजीगत खर्च बढे समग्र अर्थतन्त्रमा सकारात्मक असर देखिने उनको भनाई थियाे ।

त्यस्तै नविल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले अर्थतन्त्रले सुधारको गति नलिए अर्को वर्ष बैंकहरुले लाभांश दिन नसक्ने बताएका छन्। सिईओ ढुंगानाले विगतमा कहिल्यै नदेखिएको समस्या अहिले अर्थतन्त्रमा देखिएको र त्यसको प्रभाव बैंकमा परेको उनको भनाई छ।

अहिले बजारमा खरिदबिक्रि देखि उधारो उठ्ने काम सुस्ताएको र समग्र अर्थतन्त्रमा नै समस्या आएको उनले बताए। जसले गर्दा बैंकको रिकभरीमा नराम्रोसँग हिट गरेको बताउदै अर्थतन्त्रमा सुधार नभएमा बैंक तथा वित्तीय संस्थाहरुले थप समस्या झेल्नुपर्ने बताए। अहिले मुलुकमा पुजीँगत खर्च बढाउने भन्दा पनि बजेट घटाउने परिपाटी सहि नभएको बताए। यसले अर्थतन्त्र सकरात्मक गतिमा नजाने उनको भनाई छ।

साधारण खर्चकै लागि ऋण उठाउनु पर्ने स्थितिले अर्थतन्त्र सहज नभएको जनाउने उनको भनाई छ। कार्यक्रम महिला आर्थिक पत्रकारिता संघकी अध्यक्ष शर्मिला ठकुरीले महिलाको क्षमता विकासमा सहयोग गर्न कार्यक्रम गर्न लागिएको बताइन्।