पश्चिमी न्यून चापीय प्रणाली सक्रिय, धेरै स्थानमा बदली

-



     सफल आवाज    
     फागुन ७ गते २०८० मा प्रकाशित



काठमाडाैं, ७ फागुन । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले पश्चिमी न्यून चापीय प्रणाली (Western Disturbance) को प्रभावका कारण सोमबार देखि शुक्रबार सम्म नेपालको धेरै स्थानहरूमा आंशिक देखि साधारणतया बदलीको सम्भावना रहेको छ ।

उक्त पश्चिमी न्यून चापीय प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने क्रममा यस प्रणालीको प्रभावका कारण सोमबार देखि बुधबार सम्म सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दूई स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

बिहीबार देखि शुक्रबार सम्म बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

यसैगरि सोमबार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

मंगलबार देखि बुधबारसम्म सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती र कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

बिहीबार बागमती, मधेश र कोशी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।शुक्रबार गण्डकी, बागमती र कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा छिटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । शनिबार देखि क्रमशः मौसममा सुधार हुँदै जाने देखिन्छ ।  

उक्त मौसम प्रणालीको असरले तापक्रममा समेत केही गिरावट आई चिसो बढ्न सक्ने सम्भावना रहेको छ। वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएकाे छ ।