बैंक-वित्तीय क्षेत्रका बिरूद्ध अभिव्यक्ति दिनेलाई कारबाही गर्न बैंक-वित्तीय संघहरूकाे माग

-



     सफल आवाज    
     फागुन ८ गते २०८० मा प्रकाशित



काठमाडाैं, ८ फागुन । नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशेसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले एउटा बिज्ञप्ती निकालेर बैंक तथा वित्तीय क्षेत्रका बिरूद्ध आइरहेका अभिव्यक्तिहरू प्रति ध्यानकर्षण भएकाे जनाएका छन् ।

उनीहरूले बैंक तथा वित्तीय क्षेत्रका बिरूद्ध केही अराजक गतिविधीहरु भइरहेको र सामाजिक संजालहरुमा राखिएका भ्रामक र गलत अभिव्यक्तिहरु प्रति  गम्भिर ध्यानाकर्षण भएको जनाएका छन्।

सामाजिक संजालहरुमा आउने आधारहीन, गलत र भ्रामक टिप्पणीहरुमा ध्यान नदिन उनीहरूले आग्रह गरेका छन् । साथै यसका बारेमा सरोकारवाला निकायहरुकाे धारणा, सूच्लेना तथा समाचारहरुलाई आधिकारिक मान्न अनुराेध गरेका छन् । सर्वसाधारणहरुमा डर उत्पन्र गराउने, तर्साउने, गलत र आपत्तिजनक अभिव्यक्ति दिनेहरुलाई कानूनी कारबाही गर्न माग गरिएकाे छ। 

‘अन्तर्राष्ट्रिय बैंकिङ्ग सिद्धान्त लगायतलाई आत्मसात गर्दै नेपाल राष्ट्र बैंकले तोकेको नीतिगत व्यवस्थाहरुको पालना गर्दै, नेपालको बैंकिङ्ग क्षेत्र उदाहरणको रुपमा स्थापित भएको छ । बिज्ञप्तीमा लेखिएकाे छ, नेपाल राष्ट्र बैंकको सुक्ष्म निगरानी र सोको नीतिनियमहरुको अधिनमा रहेर प्रत्येक त्रैमासमा वित्तीय विवरण सार्वजनिक गर्दै  आएका छाैं ।

बैंकिङ्ग क्षेत्र पारदर्शी मात्र नभई सुपरिवेक्षणीय दृष्टिकोणले पनि अब्बल रहेको छ । नेपालका बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुमा जोखिम बहन गर्ने क्षमता भएको र आजको दिनमा यी संस्थाहरु सुरक्षित रहेको व्यहोरा स्पष्ट पार्दछौं ।’

अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको नेपालको बैंकिङ्ग क्षेत्रलाई दक्षिण एसियाकै सबल र उत्कृष्ट क्षेत्रको रुपमा स्थापित गर्न सहयोग गर्ने सरोकारवालाहरु सबैमा आभार व्यक्त गरिएकाे छ। 

अहिले बैंक तथा वित्तीय संस्थाहरुमा ५ करोड ३५ लाखभन्दा बढी निक्षेप खाताहरु रहेका छन् भने १८ लाखभन्दा धेरै कर्जा खाताहरु संचालनमा रहेका छन् ।

५४ वटा बैंक तथा वित्तीय संस्थाहरुले मुलुकको कुल ग्राहस्थ उत्पादन भन्दा धेरै निक्षेप संकलन गरेका छन्। बैंकिङ्ग सेवाहरुमा ६ हजार ४४१ शाखाहरुबाट सेवा दिइरहेका छन् । ५७ वटा लघुवित्तले २८ लाख बढी ऋणीहरुलाई रु ४ खर्ब बढी ऋण प्रवाह  गरेका छन् । 

सबै संस्थाहरुले ८२ हजार बढी कर्मचारीहरुलाई रोजगारी दिएका छन् । यस आर्थिक वर्ष २०७९ र ०८० मा बैंक तथा वित्तीय संस्थाहरुले सरकारलाई रु ३१ अर्ब बढी राजश्व बुझाएका छन्। उनीहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत रु ७७ करोड बढी विभिन्न सामाजिक कार्यमा खर्च गरेकाे जनाएका छन् ।