त्रिभुवन विमानस्थलबाट एक किलो सुनसहित भारतीय नागरिक पक्राउ

-



     सफल आवाज    
     फागुन ११ गते २०८० मा प्रकाशित



काठमाडौं, ११ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक किलो सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतीय नागरिक मोहमद जेसन रहेका विमानस्थल सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिए।

“पक्राउ परेका जेसनले लगाएको पाइन्ट र भित्री वस्त्रमा लेपन गरी ल्याइएको अवस्थामा सुनसहित पक्राउ गरेका छौँ”, उनले भने, “लुगासहित करिब दुई किलो पाँच सय ग्राम छ ।

निजले दिएको बयान अनुसार सुन मात्रै करिब एक किलो छ ।” पक्राउ परेका जेसन दोहाबाट मुम्बइ हुँदै इण्डिगो एयरलाइन्सबाट बिहिबार अपराह्न ४ बजे काठमाडौँ आएका प्रहरी वरिष्ठ उपरीक्षक शर्माले बताए।

भन्सार जाँच पार गरिसकेपछि शङ्का लागेको आधारमा निजको खोजतलास गर्दा उक्त सुन भेटिएको प्रहरीले जनाएको छ । निजलाई थप अनुसन्धान र कारबाहीका लागि विमानस्थल भन्सार कार्यालयमा बरामद सुनसहित बुझाइने प्रहरी वरिष्ठ उपरीक्षक शर्माले जानकारी दिए।