सर्वोत्तम सिमेन्टकाे आईपीओमा आजदेखि आवेदन खुल्ला

-



     सफल आवाज    
     फागुन १३ गते २०८० मा प्रकाशित



काठमाडाैं, १३ फागुन । सर्वोत्तम सिमेन्ट लिमिटेडकाे आईपीओ आजदेखि बिक्री खुला गरिएकाे छ । कम्पनीले २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेकाे हाे ।

यसअघि कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सेयर खुलाइ बाँडफाँड गरिसकेकाे छ ।

यसअघि स्थानियका लागि खुलाइएकाे सेयरमा आवेदन नपरी बाँकी रहेकाे ६ लाख ८१ हजार ५३० कित्तामा थप गरेर २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन खुलाएकाे हाे ।

सेयरमा लगानीका लागि इच्छुक लगानीकर्ताहरूले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिन पाउनेछन्। लगानीकर्ताले घटीमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिन सक्नेछन्। उनीहरूले बढीमा १० हजार कित्ता माग गर्न सक्नेछन् । यसका लागि फागुन १६ गतेसम्म आवेदन दिन पाइनेछ । साे मितिसम्म पूरा आवेदन नपरेमा फागुन २७ गतेसम्म आवेदन दिन सकिनेछ।

सेयर लगानीकर्ताले सेबाेनबाट अनुमति लिएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखाहरूबाट र मेरो शेयर अनलाइनबाट आवेदन दिन पाउनेछन्।

नवलपरासीकाे सुनवल नगरपालिका वडा नं. ११, जोडेनीमा रहेको सर्वोत्तम सिमेन्ट उद्योगले २०७१ फागुन १ गतेदेखि सिमेन्ट तथा क्लिंकर उत्पादन गर्दै आइरहेको छ। यसकाे प्रतिदिन उत्पादन क्षमता ३ हजार टन क्लिंकर र ३ हजार टन सिमेन्ट रहेको छ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । यसकाे सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेका छन्।