‘मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रबीच सहकार्य आवश्यक छ’

-



     सफल आवाज    
     फागुन १६ गते २०८० मा प्रकाशित



मोरङ, १६ फागुन । नेपाल सरकार र निजी क्षेत्रबीचको सहकार्यबाट मुलुकको आर्थिक विकास सम्भव हुने आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशद्वारा आयोजित ‘आर्थिक विकासमा सरकार र निजी क्षेत्रको सहकार्य’सम्बन्धी अन्तक्र्रियामा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले मुलुकको आर्थिक विकासका लागि सरकार तथा निजी क्षेत्रबीचको सहकार्य प्रभावकारी भएमा सोचेअनुसार विकास र समृद्धि कायम हुने बताए।

उनले देशको विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहँदै आएको उल्लेख गरे। बूढीगङ्गा गाउँपालिकाका प्रमुख जीतनारायण थापा मगरले औद्योगिक क्षेत्र समेटिएको पालिकाको विकासमा सहयोग गर्न निजी क्षेत्रसँग आग्रह गरे।

यसैगरी कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले लगानी हुन नसक्दा सरकारले निर्माण गरेका संरचना प्रयोगविहीन अवस्थामा रहेका बताए।

कार्यक्रममा उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका उपाध्यक्ष भीम पौडेल, महिला उद्यमी सुनिता छाराहाङ, निशा श्रेष्ठ र कृति श्रेष्ठ, साना तथा मझौला व्यवसायी सङ्घका अध्यक्ष गोपालबहादुर पराजुलीलगायतले उद्योग व्यवसायमा आइपर्ने समस्या सरकारले समाधान गर्नुपर्ने सुझाव दिए।