नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले वार्षिक साधारण सभा बाेलायाे, शेयरधनीले यसपटक लाभांश नपाउने

-



     सफल आवाज    
     फागुन १७ गते २०८० मा प्रकाशित



काठमाडाैं, १७ फागुन । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ३७ औँ वार्षिक साधारण सभा बाेलाएको छ। बैक सञ्चालक समितिको फागुन १६ गते बसेको बैठकले आगामी चैत २० गतेका लागि साधारण सभा बाेलाउने निर्णय गरेकाे हाे । यसपटककाे साधारण सभामा सेयरधनीहरुका लागि लाभांशको प्रस्ताव नै छैन । यसर्थ बैकका शेयरधनीले लाभांश नपाउने भएका छन ।

सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्नेछ ।

त्यस्तै आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिने बैकले जनाएकाे छ । साधारण सभा प्रयोजनका लागि बैंकले आगामी फागुन २४ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

सभामा बैंकको सहायक कम्पनी एनआईबीएल एस क्यापिटल र एनआइएबीएल स्टक मार्केट्सको गत आवको वित्तीय विवरणहरु समेत पारित गरिनुका साथै संस्थापक सेयरधनीका तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीका तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित हुने बताइएकाे छ ।