पर्यटन, व्यापार र सांस्कृतिक प्रवर्धन गर्न एनवाईएफको टोली भाेलि चीन जाँदै

-



     सफल आवाज    
     फागुन १८ गते २०८० मा प्रकाशित



पोखरा, १८ फागुन । युवा उद्यमी मञ्च पोखराको २१ सदस्यीय टोली भाेलि चीनको ग्वान्जाओ भ्रमणमा जाने भएको छ । एनवाईएफका अध्यक्ष निरन केसीसहितको टोलि शुक्रबार काठमाडौं जाने र शनिबार ग्वान्जाओ प्रस्थान गर्ने भएको हाे।

पोखरा महानगरपालिकासंग भगिनि सम्बन्ध रहेको ग्वान्जाओमा पर्यटन प्रवर्धन, प्रकृति, संस्कृति तथा व्यावसायीक छलफल गरिने अध्यक्ष केसीले बताए ।

पोखरामा आयोजित पत्रकार सम्मेलनमा केसीले पोखराको पर्यटनलाई चिनाउने, सांस्कृतिक अभिबृद्धि र भेटाघट हुने बताए । उनले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने तयारी भईरहेको बेलामा हुन लागेको चीनको भ्रमण फलदायी हुने विश्वास गरिएको बताए ।

यस्तै कोरला नाका खुलाउने विषयमा कुराकानी हुने, व्यापार व्यवसायलाई कसरी बृद्धि गर्न सकिन्छ भन्ने बारेमा बिचारविमर्श हुने केसीले बताए ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले संघले जन्माएको संस्थाले यहीं केहि गर्न सकिन्छ, सिपको विकास गर्न सकिन्छ, उत्पादनमा जोडिन सकिन्छ कि भनेर चीनको भ्रमण गर्न लागेकोमा खुसि व्यक्त गरे । त्यहाँ गएर टोलीले कोरला नाकाबाट आयातभन्दा पनि यहाँबाट के निर्यात गर्न सकिन्छ भनेर छलफल गर्न र सोच बनाउन आवश्यक भएको बताए ।

पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले नेपाल अनि पोखरा पर्यटनको लागि उत्कृष्ट गन्तव्य भएकोले यहाँ पर्यटन प्रवर्धनको लागि भ्रमण फलदायी हुने विश्वास व्यक्त गरे । उनले यस्ता कार्यक्रमहरुमा सरकारको संलग्नता हुनुपर्ने बताए ।

होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले पोखराको पर्यटन प्रवर्धन र व्यापार व्यवसायका लागि भ्रमणलाई सार्थक बनाउन सुझाए । उनले भने, हामीले पनि निरन्तर पर्यटन प्रवर्धनका कामहरु गर्दै आएका छौं । ठूलो संख्यामा जनसंख्या रहेका छिमेकी चीन र भारतबाट पर्यटक ल्याउन सके यहाँको पर्यटन उभो लाग्ने बताए ।

सरकारलाई त के मतलव छ र । सुवेदीले भने करोडौं, अर्बाैं लगानी गरेका हामीहरु नै डुब्छौं । त्यसैले हामीले नै पर्यटनको प्रवर्धन र विकासको कार्यलाई जारी राख्नुपर्छ ।