पञ्चकोटमा पर्यटक आकर्षित गरे आर्थिक विकासमा टेवा पुग्छ : अध्यक्ष ढकाल

-



     सफल आवाज    
     फागुन १९ गते २०८० मा प्रकाशित



पाेखरा, १९ फागुन । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सर्वसिद्धिधाम पञ्चकोट पवित्र देवभूमिका रुपमा स्थापित भइरहेको बताएका छन् । साे असवरमा उनले पर्यटक आकर्षित गरे आर्थिक विकासमा टेवा पुग्ने बताए ।

बागलुङको पञ्चकोटमा आयोजित ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’मा आज सम्बोधन गर्दै उनले पञ्चकोटको विकासमा सहयोगी बन्न निजी क्षेत्र तयार रहेको उनको भनाइ छ ।

सभ्यताको जननी कालीगण्डकी नदी र शालिग्रामको संरक्षणका लागि स्वामी कमलनयनाचार्यले सञ्चालन गरेको अभियान अनुकरणीय रहेको अध्यक्ष ढकालले बताए।

“पञ्चकोटलाई धार्मिक पर्यटनको केन्द्रका रुपमा विकास गर्न सरकारले विशेष कार्ययोजना ल्याओस् भन्ने हाम्रो अनुरोध छ । यसमा हातेमालो गर्न हामी बागलुङवासी पनि प्रतिबद्ध छौँ”, उनले भने, “धार्मिक तथा पर्यटकीय गन्तव्यस्थलको विकासले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिन्छ, पर्यटनमार्फत समग्र देशको आर्थिक विकासमा टेवा पुग्छ ।”

अध्यक्ष ढकालले देशका सातै प्रदेशमा एकीकृत पर्यटकीय पूर्वाधार निर्माणमा आफूहरु लागिपरहेको बताए। नेपाललाई प्राकृतिक, धार्मिक तथा सांस्कृतिक पर्यटकीयस्थलका रुपमा विकास गर्नुपर्नेमा उनले जोड दिए।