रू १३ अर्ब ४ करोडकाे ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, आज बाेलकबाेल

-



     सफल आवाज    
     फागुन २१ गते २०८० मा प्रकाशित



काठमाडौं, २१ फागुन । नेपाल राष्ट्र बैंकले रूपैयाँ १३ अर्ब ४ करोडकाे ट्रेजरी बिल नवीकरण गर्दैछ ।

बैंकले सूचना प्रकाशित गरेर ९१ दिन र १८२ दिनका लागि ट्रेजरी बिल नवीकरण गर्ने भएकाे हाे । बैंकले भाेलि मंगलबार जारी गर्ने ट्रेजरी बिलका लागि आज अपरान्ह ३ बजेसम्म बोलकबोल गरिदैछ । 

बैंकले ९१ दिनका लागि ६ अर्ब ४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्नेछ । यो ट्रेजरी बिल २०८१ जेठ २२ गते परिपक्व हुने भएकाे छ । १८२ दिनको लागि ७ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्ने भएकाे छ । यो ट्रेजरी बिल २०८१ भदौ १८  गते परिपक्व हुने भएकाे छ । 

ट्रेजरी बिल भनेको के हो ?

ट्रेजरी बिल एक वर्षवा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।

सरकारले आवश्यक ठानेमा अल्पकालका लागि बढीमा एक वर्षसम्म स्रोत जुटाउन यो बिल बिक्री गर्ने व्यवस्था रहेकाे छ र साेहि अनुरूप जारी गरिन्छ ।

यसमा सुविधा भनेकाे भुक्तानी मिति पहिले ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न सकिने, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा र अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिन्छ । व्यक्तिले ट्रेजरी बिलको प्रमाणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने सुविधा रहेकाे छ ।

बैंकका अनुसार यसमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकले ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन पाउनेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य राख्नेलाई अग्र प्राथमिकतामा राखेर आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड गरिन्छ ।