टुक्रियाे सत्ता गठबन्धन, एमाले, रास्वपा सहितको नयाँ सरकार बन्ने, एमालेका गिरी मन्त्री बन्दै

-



     सफल आवाज    
     फागुन २१ गते २०८० मा प्रकाशित



काठमाडाैं, २१ फागुन । पाँच वर्षका लागि सत्ता गठबन्धनकाे बलियाे डाेरी कसिएकाे बताइरहेका सरकारमा संलग्न दलहरूबीच गठबन्धन टुक्रिएकाे छ।

अब ठूलाे पार्टी कांग्रेसबीनाकाे सरकार बन्ने भएकाे छ । यसका लागि नेकपा माओवादी केन्द्रका पदाधिकारीहरुको बालुवाटारमा बसिरहेकाे छ । उता नेकपा एमालेको बैठक बालकोटमा बसिरहेकाे छ ।

स्रोतहरुका अनुसार संभवत: आज नै नयाँ मन्त्रिपरिषद् गठन हुनेछ । एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले सामाजिक सञ्जालमा आजै सानो आकारको मन्त्रिपरिषद बन्ने जानकारी गराएका छन्।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बन्ने नयाँ सरकारमा एमाले, रास्वपा, राप्रपा र जसपा सहभागी हुने बताइएकाे छ। सरकारमा जाने विषयमा अन्य दलहरुसँग पनि छलफल भइरहेकाे छ।

आइतबार राति प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएकाे थियाे । छलफलमा सत्ता गठबन्धन फेर्ने बारेमा कुराकानी भएकाे र सहमति भएकाे थियाे ।

नेकपा माओवादी र एमाले सहितको सरकार बन्ने भएसँगै एमालेबाट पदम गिरी मन्त्री बन्ने बताइएकाे छ । बालकोटकाे एमाले सचिवालय बैठकले गिरीलाई सरकारमा पठाउने निर्णय गरेको छ ।

एमालेका प्रमुख सचेतक रहेका गिरी यसअघि स्वास्थ्यमन्त्री बनेका थिए ।