नेप्सेमा ७०.३१ अंकको गिरावट, ४ अर्ब बढीको कारोबार

-



     सफल आवाज    
     फागुन २२ गते २०८० मा प्रकाशित



काठमाडौं, २२ फागुन । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार सेयर बजारमा अत्याधिक गिरावट भएको छ ।

यतिबेला मुलुकमा नयाँ गठबन्धन भई नयाँ सरकार गठनको प्रक्रिया शुरु भएको छ । सोमबार तीन मन्त्रीहरुको सपथ ग्रहण भईसकेको छ । अन्य मन्त्रीहरुको टुंगो लगाउनका लागि दलहरु आन्तरिक छलफलमा व्यस्त रहेका छन् ।

अर्थमन्त्रीमा एमालेका विष्णु पौडेलको पनि चर्चा रहेको कारण सोमबार बजार खुलेको ४० मिनेटमा तीन पटक सर्किट लागेको थियो भने कारोबार बन्द भएको थियो ।

अर्का चर्चामा नाम आएका स्वर्णिम वाग्लेको नयाँ नाम हो भने सरकारको उच्च पदमा रहेर काम गरिसकेका र पूर्व अर्थमन्त्री पौडेल बजार मैत्री व्यवहारका लागि उपयुक्त भएकोले बजारको मनोविज्ञान त्यतातिर ढल्किदा बजार बुम भएको थियो ।

अर्को चर्चामा आएको नाम माओवादी केन्द्र वर्षमान पुनको रहेकोमा अर्थ बजार पहिलेबाटै नेतृत्वबाट सन्तुष्ट हुन सकेको छैन । कुनैबेला स्वयं प्रधानमन्त्रीको अर्थ बजारप्रतिको कटाक्षका कारण असर परिरहेको देखिन्छ ।

अहिले अर्थमा वर्षमान पुन जाने कुरो अलि बढी भईसकेपछि एकदिनपछि बजारमा करेक्सन भएको छ । तर यसपछि बजार कस्तो हुनेछ त्यो पर्ख र हेरको अवस्थामा रहनेछ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७०.३१ अंकले घटेर २००७.६९ विन्दु्मा झरेको छ । नेप्सेमा ३.३८ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ११.९७ अंकले घटेर ३५७.३० विन्दुमा रहेको छ ।

यसदिन १३ उपसमूहहरुमध्ये एउटा बाहेक सबैमा रातो लागेको छ । कुल ३१३ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको १ करोड १४ लाख ६७ हजार ५९९ कित्ता सेयरको खरिदबिक्रीबाट ४ अर्ब ११ करोड ३६ लाख ७६ हजार ९५८ रुपैयाँ २ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैैभन्दा बढी सोनापुर मिनरल्स एण्ड ओयल लिमिटेडको कारोबार भएको छ । कम्पनीको ४१ करोड ९१ लाख २२ हजार ७३५ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै गुरास लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ८.७३ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजु लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।