एसियाली विकास बैंकका देशीय निर्देशकद्वारा अर्थमन्त्री पुनसँग शिष्टाचार भेट

-



     सफल आवाज    
     फागुन २९ गते २०८० मा प्रकाशित



काठमाडौं, २९ फागुन । एसियाली विकास बैंक (एडिबी) को नेपालका लागि देशीय निर्देशक आर्नो कोशवाले अर्थमन्त्री वर्षमान पुनसँग शिष्टाचार भेट गरेका छन्।

अर्थ मन्त्रालयमा आज भएको भेटमा द्विपक्षीय साझेदारी मजबुत बनाउने र सम्भावित आयोजनामा लगानीका लागि थप सहकार्य गर्ने विषयमा छलफल भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।

भेटका क्रममा निर्देशक कोशवाले एडिबीको लगानीमा निर्माण भएर पहिरोका कारण क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको सुरुङको पुन ः डिजाइनको काम अन्तिम चरणमा रहेको जानकारी दिए।

विश्व बैंकसँगको वित्तीय साझेदारीमा एडिबीले निर्माण गर्न चाहेको जलासययुक्त दूधकोशी जलविद्युत् आयोजना र माथिल्लो अरुण जलविद्युत् आयोजनाको काम चाँडै सुरु हुने विश्वास पनि उनले व्यक्त गरे।

जवाफमा अर्थमन्त्री पुनले प्रमुख विकास साझेदार एडिबीले नेपालका महत्वपूर्ण विकास आयोजनामा गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत समझदारीपूर्ण सहकार्य हुने आशा व्यक्त गरे।

दूधकोशी र माथिल्लो अरुण जलविद्युत् आयोजनाको काम सकेसम्म छिटो अघि बढाउने प्रतिबद्धता पनि उनले जनाए। नेपालका दुई ठूला विकास साझेदार विश्व बैंक र एसियाली विकास बैंकले एकै आयोजनामा लगानी साझेदारी गर्न गइरहेकोमा पनि अर्थमन्त्री पुनले खुसी व्यक्त गरे ।

“दूधकोशी जलाशययुक्त र माथिल्लो अरुण नदी प्रवाहमा आधारित ठूला आयोजनामध्येका हुन् । म ऊर्जामन्त्री छँदा सुरु भएका यी आयोजनालाई प्राथमिकतामा राखेकामा एडिबीलाई धन्यवाद दिन चाहन्छु”, अर्थमन्त्री पुनले भने। नेपालमा विकास बजेट कम खर्च हुने समस्या रहेको उल्लेख गर्दै अर्थमन्त्री पुनले त्यसमा सुधार गर्न क्षमता अभिवृद्धि र जनशक्ति विकासमा कार्ययोजना बनाएर काम गर्न लागेको जानकारी दिए।

युवा वर्ग लक्षित रोजगारीका कार्यक्रम ल्याउने तथा निजी क्षेत्र र आमजनतामा आशा जगाउने गरी काम गर्ने आशा पनि उनले व्यक्त गरे। अर्थमन्त्री पुनले नेपालमा लगानी बढाउन पनि एडिबीलाई आग्रह गरे।