रामेछापको टार सिमन्तीमा आगलागी, २६ घर-गोठ जले

-



     सफल आवाज    
     चैत्र २ गते २०८० मा प्रकाशित



मन्थली (रामेछाप), २ चैत । रामेछाप नगरपालिका– ९ को टार सिमन्ती भन्ने ठाउँमा आगलागी हुँदा १४ घर र १२ गोठ जलेरका छन् । आगलागीमा परी ६० भन्दा बढी बाख्रा र छ वटा गाईभैँसी मरेका छन् ।

नेवार र तामाङ समुदायको बसोबास रहेको उक्त स्थानमा जङ्गलमा लागेको डढेलोका कारण आगलागी भएको स्थानीयले बताएका छन् । आगलागीको खबर प्राप्त हुनासाथ रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेको नेतृत्वमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली आगो निभाउन घटनास्थल पुगेको थियो ।

क्षतिको पूर्ण विवरण प्राप्त हुन बाँकी रहेको प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले बताए। आगलागीबाट घरसँगै लत्ताकपडा र खाद्यान्नसहित सम्पूर्ण धनमाल जलेको छ । अग्निपीडितलाई स्थानीय विद्यालयमा अस्थायी बसोबासको व्यवस्था गरिएको नगर प्रमुख लवश्री न्यौपानेले जानकारी दिए।

उनीहरूलाई नेपाल रेडक्रस सोसाइटीलगायत सामाजिक सङ्घसंस्थाको समन्वयमा राहत सामग्री प्रदान गरिने उनले बताए।