एमाले अध्यक्ष ओलीलाई कञ्चनपुरमा नागरिक अभिनन्दन

-



     सफल आवाज    
     चैत्र २ गते २०८० मा प्रकाशित



दोधारा चाँदनी (कञ्चनपुर), २ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कञ्चनपुरमा नागरिक अभिनन्दन गरिएको छ ।

एमाले कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गर्न महेन्द्रनगर गएका अध्यक्ष ओलीलाई कञ्चनपुर उद्योग वाणिज्य सङ्घले नागरिक अभिनन्दन गरेको हो ।

महेन्द्रनगरस्थित खुलामञ्चमा जारी कञ्चनपुर पर्यटन महोत्सव एवं सुदूरपश्चिम औद्योगिक व्यापार मेलाको समापन समारोहमा उद्योग वाणिज्य सङ्घले १५ किलोको माला लगाएर उनलाई नागरिक अभिनन्दन गरेको हो ।

मेलाको १५औँ सस्करण भएकाले अध्यक्ष ओलीलाई १५ किलोको मालासहित अभिनन्दन गरिएको सङ्घले जनाएको छ । सो अवसरमा अध्यक्ष ओलीले नयाँ सरकार बनेसँगै सुदूरपश्चिममा विकास निर्माणले तीव्रता पाउने बताए ।

“देश बनाउने अभिभारा नेकपा एमालेको काँधमा छ”, उनले भने, “हाम्रो नीतिअनुसार सुदूरपश्चिमको विकासलाई अगाडि बढाउँछौँ । तीन वर्षमा म प्रधानमन्त्री हुँदा सुरु गरेका यहाँका सबै कामले अब निरन्तरता पाउँछन् ।”

अध्यक्ष ओलीले दोधारा चाँदनीमा सुक्खा बन्दरगाह, दैजीछेला औद्योगिक क्षेत्र निर्माणले गति लिने बताए। उनले दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह र महाकाली नदीमा निर्माण भएको चार लेनको पक्की पुलको स्थलगत निरीक्षण गरे ।

सङ्घले मेलाको उद्घाटन समारोहमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलाई १५ किलोको माला लगाइदिएर सम्मान गरेको थियो ।