१८ किमि लामो बुटवल–गोरखपुर विद्युत् प्रसारण लाइन निर्माण गर्न एमसीएले टेण्डर निकाल्याे

-



     सफल आवाज    
     चैत्र ३ गते २०८० मा प्रकाशित



काठमाडौ, ३ चैत । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले १८ किलोमिटर लामो बुटवल–गोरखपुर विद्युत् प्रसारण लाइनको टेन्डर आह्वान गरेको छ। ४ सय केभी क्षमताको उक्त प्रसारण लाइनको निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नेसम्मको काम गर्न टेन्डर आह्वान गरिएको हाे ।

टेन्डरमा सहभागी हुन चाहने निर्माण कम्पनीहरूले आगामी २०८० जेठ ३ गतेसम्म आवेदन दिन सक्ने प्रकाशित सूचनामा उल्लेख गरिएकाे छ। एमसीसीको सहयोगमा बन्ने प्रसारण लाइन चार खण्डमा निर्माण हुनेछ ।

एमसीसीअन्तर्गतका ठेक्काहरु मूल्य तथा गुणस्तर दुवैलाई ध्यान दिएर लिइने एमसीएले जनाएको छ । एमसीएले यसअघि तीन लटमा गरेर ३ सय १५ किलोमिटर प्रसारण लाइनको टेन्डर आह्वान गरेकोमा न्यूनतम् प्रस्ताव नै ६० प्रतिशत महँगो भएपछि सो प्रक्रिया नै रद्द गरिएको थियो ।

बाँकी प्रसारण लाइनसँग निर्माण गर्दा क्रसबोर्डर लाइन निर्माणमा ढिलाइ हुने भन्दै नेपाल विद्युत् प्राधिकरणले गुनासाे गरेकाेले क्रसबोर्डर प्रसारण लाइन निर्माण छिटाे सम्पन्न गर्न १८ किलोमिटर खण्डलाई छुट्टै निर्माण गर्ने एमसीएले निर्णय गरेको बताएकाे छ ।