अर्थतन्त्र संकटमा छ भन्दै निराश नबनाैं: अर्थमन्त्री पुन

-



     सफल आवाज    
     चैत्र ४ गते २०८० मा प्रकाशित



काठमाडाैं, ४ चैत । सरकारका अर्थमन्त्री वर्षमान पुनले अहिले नेपालकाे अर्थतन्त्र संकटमा नरहेको बताएका छन् । नागरिक लगानी कोषको ३४औं वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री पुनले अर्थतन्त्रका सूचक केहि पछाडी रहेपनि समग्र अर्थतन्त्रमा संकट नरहेको बताएका हुन ।

एक वर्षभन्दा बढीका लागि वस्तु तथा सेवाको आयात धान्ने विदेशी मुद्रा सञ्चिती रहेको, बैंकहरुमा लगानी योग्य रकम पर्याप्त रहेको तथा विप्रेषणमा नयाँ रेकर्ड कायम हुनुले आगामी दिनमा नेपाली अर्थतन्त्रको भविष्य राम्रो रहेको संकेत दिने उनको भनाइ थियो ।

विकसित भनिएका र नेपालभन्दा विकास र अर्थतन्त्रमा धेरै अगाडि बढिसकेका संसारका कुनै पनि मुलुक समस्यारहित नरहेको चर्चा गर्दै पुनले नेतृत्वले संकटकै समयमा आफ्नो क्षमता र आत्मविश्वास देखाउनुपर्ने उल्लेख गरेका थिए ।

पूर्व अर्थमन्त्रीहरुबारे नकारात्मक टिप्पणी नगर्ने बताएका मन्त्री पुनले उनीहरुले अघि सारेका राम्रा र सकारात्मक नीतिहरुलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाए ।

विगतमा अर्थतन्त्र संकटमा रहेका बेला लिइएका कतिपय नीतिमा खुकुलो बनाउने गरी मन्त्रालय र नियामक निकायबीच छलफल चलिरहेको मन्त्री पुनले बताए।

नागरिक लगानी कोषलाई थप व्यावसायिक बनाउन र कोषमा जम्मा भएको रकमलाई उत्पादनमूलक क्षेत्र, ठूला पूर्वाधार निर्माण र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्न पनि मन्त्री पुनले निर्देशन दिए ।

कोषको रकम उत्पादन, उत्पादकत्व र रोजगारीको अवसर सिर्जना गर्ने क्षेत्रमा परिचालन गरी राष्ट्रिय पुँजी निर्माणका लागि काम गर्न सक्नुपर्ने उहाँको भनाइ छ ।

कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले कोषले बचत परिचालन गरी राष्ट्रिय पुँजी निर्माणको आधार तय गर्न महत्वपूर्ण भूमिका खेलेको बताए । कोषले आफ्नो व्यवसाय विस्तार, प्रतिफल योग्य लगानी, जोखिम व्यवस्थापनलगायतका क्षेत्रमा योजनाबद्ध ढङ्गले काम गरिरहेको उनको भनाइ छ ।

लगानीलाई विविधीकरण गर्ने, जोखिम विश्लेषण गर्दै प्रतिफल योग्य क्षेत्रमा लगानी विस्तार गर्ने, राज्यले प्राथमिकतामा राखेका पूर्वाधारका क्षेत्रमा लगानी बढाउने, कोषका कामलाई थप प्रविधिमैत्री बनाउने र सेवा प्रवाहलाई सहज बनाउँदै लैजाने गरी काम गरिरहेको कार्यकारी निर्देशक कार्कीले दाबी गरे ।

वैदेशिक रोजगारीमा रहेका नागरिकलाई कोषका कार्यक्रममा आबद्ध गराउन अध्ययन सुरु भएको कार्कीले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कोषको खुद मौज्दात रू दुई खर्ब ४० अर्ब ५१ करोड रहेको छ भने यो अवधिमा कोषले विभिन्न क्षेत्रमा रु दुई खर्ब ३५ अर्ब पाँच करोड बराबर लगानी गरेको छ ।