प्रधानमन्त्री दाहालद्वारा पोखरालाई ‘पर्यटकीय राजधानी’ घोषणा

-



     सफल आवाज    
     चैत्र ४ गते २०८० मा प्रकाशित



पाेखरा, ४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरेका छन् । प्रधानमन्त्री प्रचण्डले पोखरा आजदेखि नेपालको पर्यटन राजधानी भएकाे घोषणा गरेका हुन् ।

पोखरा प्राकृतिक, सांस्कृतिक साहसिक क्षेत्रको अद्वितीय संगम रहेको भन्दै उनले पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरेकाे बताए । त्यसअघि प्रधानमन्त्रीले पर्यटन राजधानीको लोगो सार्वजनिक तथा स्मृति स्तम्भ अनावरण गरेका थिए ।

पर्यटकीय राजधानी घोषणा समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत सहरका रूपमा विकास गर्न सरकारले उच्च प्राथमिकता दिने विश्वास दिलाएका थिए ।

पोखराको विकास निर्माणमा विद्यमान तथा सम्भावित समस्या समाधानका लागि समेत यथोचित पहल तथा समन्वय गरिनेछ”, प्रधानमन्त्री प्रचण्डले भने। “पर्यटकीय राजधानीको सुदृढ पूर्वाधार विकासका लागि अन्तर्राष्ट्रिय विकास साझेदारहरूबाट आवश्यक सहयोग प्राप्त गर्न र निजी क्षेत्रका लगानीकर्ताहरू आकर्षित गर्न सरकारले आवश्यक पहल गर्नेछ ।

उनले आगामी महिना आयोजन गर्न लागिएको लगानी सम्मेलनले समेत यस कार्यमा महत्त्वपूर्ण सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटनको राजधानी घोषणाले विश्व पर्यटन बजारमा पोखराको ‘ब्राण्डिङ’ हुने विश्वास व्यक्त गरे । दिगो पर्यटन विकासका माध्यमबाट गण्डकी प्रदेश मात्रै नभई सिङ्गै देशको समृद्धिमा टेवा पुग्ने उजको भनाइ छ ।

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले पर्यटन राजधानी घोषणासँगै पर्यटन पूर्वाधार निर्माणमा जोड दिए । उनले पर्यटन संस्कृतिले समाजलाई एकताबद्ध बनाउने धारणा राखेका थिए ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले प्राकृतिक, सांस्कृतिक साहसिक क्षेत्रको दृष्टिले अनुपम, विश्वकै शीर्ष पर्यटकीय गन्तव्यको रुपमा ख्याती पाएकाे सुन्दर पोखरालाई मुलुककै पर्यटकीय राजधानीको रुपमा औपचारिक रुपमा घोषणा गरिएको बताए ।

मेयर आचार्यले विश्वका विभिन्न देशका शहरहरूकाे आ–आफ्नै विशेषता र पहिचानको आधारमा राजधानी घोषणा गर्ने तथ्यलाई समेत मनन गर्दै पोखरालाई पर्यटन राजधानी घोषणा गरिएको दाबी गरेका थिए ।