ग्लोबल मनि वीक २०२४ को अवसरमा सबैको लघुवित्त वित्तीय संस्थाकाे वित्तीय साक्षरता कार्यक्रम

-



     सफल आवाज    
     चैत्र ७ गते २०८० मा प्रकाशित




तनँहु, ७ चैत । तनँहुकाे बन्दिपुर–१ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्लोबल मनि वीक २०२४ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेकाे छ।

संस्थाका १९ जना युवा महिला ग्राहक सदस्यहरु, १ जना स्थानीय शिक्षक तथा बाँके जिल्लाको गुलरी स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका २० जना विद्यार्थीहरु गरी ४० जनाको सहभागितामा बाँके जिल्लाको डाँडाटपरीमा “वित्तीय साक्षरता तालिम” सम्पन्न भएकाे सबैको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलले बताएका छन ।

तालिमका प्रशिक्षकहरु विक्रम उपाध्याय र प्रतिमा शर्माले सहभागीहरुलाइ वित्तीय साक्षरताको महत्व, वित्तीय साक्षरताको परिचय, आवश्यकता र चाहना, बचतको अवधारणा तथा लक्ष्य निर्धारण, बचतको महत्व र बचतका प्रकारहरु, बचतका उपायहरु, बचत योजना, बचत प्रदायक संस्थाहरुको छनौट, कर्जाको योजना तथा कर्जा लिन सक्ने क्षमता, कर्जा सदुपयोग, जोखिम न्यूनीकरण, जोखिम परिचय र असर, विप्रेषण सेवा, अब्यवस्थित खर्चले गरीब बनाउँछ, खर्च प्राथमिकता र चुहावटको रोकथाम लगायतका बिषयमा प्रशिक्षण दिएका थिए ।

फजुल खर्च तथा नगरी नहुने खर्च, पारिवारिक बजेट, बजेट निर्माण, लघु ब्यवसायको परिचय तथा महत्व, ब्यवसाय विस्तार तथा विविधिकरण, ब्यवसायिक योजना, अन्य आयश्रोतको पहिचान, साधन श्रोतको उच्चतम सदुपयोगिता, पारिवारिक बजेट निर्माण, डिजिटल बैंकिङ्ग आदि बारेमा यस तालिममा सहभागीहरुले जानकारी हासिल गरेका थिए ।

संस्थाले २०७४ आषाढ ३० गतेदेखि निरन्तर लघुवित्त सेवा प्रदान गरी रहेको यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको बारेमा पनि प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलज्यूले जानकारी गराएका थिए ।

नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा विगत वर्षहरु झैँ यस वर्षपनि विविध कार्यक्रमको आयोजना गरी देशभर सप्ताहब्यापी अभियानमा वित्तीय प्रणालीमा आवद्ध संस्थाहरुको सहभागिता हुने भएकोले नेपाल लघुवित्त बैंकर्स संघ मार्फत त्यस संघमा आवद्ध लघुवित्त वित्तीय संस्थाका केन्द्रीय कार्यालय, शाखा कार्यालय मार्फत सप्ताहब्यापी अभियान सञ्चालन गरिएकाे बताइएकाे छ ।

यस सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ प्रदेश, ४३ जिल्लाहरुमा ९० शाखा कार्यालयहरु, ५ सुपरीवेक्षण मुकाम कार्यालय, सम्पर्क कार्यालय र केन्द्रीय कार्यालय गरी ९७ कार्यालयहरुको सञ्जालहरु मार्फत लघुवित्त सेवा प्रदान गर्दै आई रहेकोछ ।

संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरीब, विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विना धितोमा कर्जा लगानी गर्नुका साथै सीपमूलक तालिम, वित्तीय साक्षरता तालिम कार्यक्रमहरु सञ्चालन गर्दै ग्राहक सदस्यहरुको आर्थिक, सामाजिक, बौद्धिक विकास गर्दै आई रहेकोछ ।

यस संस्थाले देशको ग्रामीण क्षेत्रलाई प्राथमिकता दिई शाखाहरु स्थापना गरी सदस्यहरुलाई आवश्यकतानुसार लगानी गर्दै आई रहेकोछ । संस्थाले २०८० फाल्गुण मसान्तसम्ममा ७० हजार ६२९ घरपरिवारहरुमा सेवा विस्तार गरेको छ । संस्थाको २०८० फाल्गुण मसान्तसम्ममा लगानीमा रहेको कर्जा रु. ४ अर्ब १६ करोड ७३ लाख ६९ हजार ३३ रहेकोछ भने ग्राहक सदस्यहरुबाट रु. १ अर्ब १७ करोड बचत परिचालन गरेकोछ ।

उक्त वित्तीय साक्षरता तालिमको सञ्चालन सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको बाँके जिल्ला स्थित डाँडाटपरी शाखाका कर्मचारी ठाकुर प्रसाद रानाले गरेका थिए ।