वामपन्थिलाई फुटाउने र भविष्य देख्ने कांग्रेसकै कारण देशले गति लिएन : महासचिव पोखरेल

-



     सफल आवाज    
     चैत्र १० गते २०८० मा प्रकाशित



पोखरा, १० चैत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेस वामपन्थि पार्टीहरु बीचमा फाटो ल्याउने, त्यसैमा राज गर्न चाहने, रमाउने र भविष्य देख्ने पार्टी भएको आरोप लगाएका छन् ।

कांग्रेसको अरु दलहरुमा फाटो ल्याएर माथि जानखोज्ने प्रवृत्तिको कारण विपि कोईरालाको असावधानिले गर्दा पञ्चायतले ३० वर्ष राज गरेको बताए ।

हरेक आन्दोलनको अगुवा भएता पनि आन्दोलनको मूल मर्म र त्यसलाई सार्थकता दिन नसक्ने पार्टीको रुपमा दर्ज भएको कांग्रेस अहिले पनि वामपन्थिहरुबीच फुटको राजनीति गरिरहेको बताए । उनले भने, कांग्रेससंगको गठबन्धन छोडेर प्रचण्ड एमालेसंग नयाँ सहकार्य गर्न आउनु त्यसैको परिणति हो ।

नेकपा एमाले कास्कीको ११ औं अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै महासचिव पोखरेलले अरु पार्टीहरुबीचमा खेल्ने, वामपन्थिहरुलाई फुटाउने, राज गर्ने र त्यसैमा आफ्नो भविष्य देख्ने सोंचले गर्दा देशले गति लिन नसकेको उनको भनाई थियो ।

महासचिव पोखरेलले भने, देशमा एमालेको सर्वश्रेष्ठ नेतृत्व चाहिएको छ । समृद्ध नेपाल, सुखि नेपालीको अभिभारालाई पूरा गर्न एमालेको कार्ययोजना रहेको छ । यसका लागि हाम्रो बहुमत आवश्यक छ । त्यसैले हामीले मिसन २०८४ को अभियान शुरु गरेका हौं ।

चुनाव संघर्षको केन्द्रीय थलो हो । अहिले त फेरि गलत भाष्य निर्माण गरेर पुरानाको कारण नेपाल बनेन भन्न थालेका छन् । यो सरासर गलत हो । यूरोप, अमेरिमा नेपालका भन्दा कयौं वर्ष पूराना दलहरु छन्, थोरै छन् र उनीहरुले शासन सत्ता चलाई रहेका छन् । तर नेपालमा नेपालमा नयाँका नाममा खेल खेलिएको छ । हौवा चलाईएको छ । यो नेपालको विकास र स्थायीत्वको वाधक कुरा हो । एमालेको अठोट छ कि हामी नेपाललाई नयाँ नयाँ नामका प्रयोेगशाला बनाउन दिन्नौ ।

एमाले जनताको काम गर्ने पार्टी भएकोले ओरालोको यात्रामा गएको मुलुकलाई सहि दिशामा लैजान हामीनै चाहिन्छ । त्यसैले हामीले मिसन २०८४ लाई मुलुकको भविष्य निर्माणको आधार बनाएका छौं, महासचिव पोखरेलले भने ।

अब हामीले विदेश गएर रेमिट्यान्स पठाउने होईन कि यही अवसर खोज्ने हो र यहाँ संभावना छ । देशमा किन बस्ने भन्ने मानसिकता त्याग्न पोखरेलले अनुरोध गरे । समाज बदल्नको लागि निर्बाहमुखि अर्थतन्त्रलाई आधुनिकिकरण गर्नुपर्ने, प्रत्येक परिवारको लेखाजोखा तयार पार्नुपर्ने र राष्ट्रिय पुँजीको विकास गर्नुपर्नेमा जोड दिए ।

महासचिव पोखरेलले एमाले मास पार्टी भएको र यसका नेता, कार्यकर्ता अनुशासित, धैर्यवान, सशनशिल, जागरुक, असल दृष्टिकोण राख्ने, स्थायीत्वको वकालत गर्ने भए देश बन्छ भन्नेमा आफु ढुक्क भएको बताए । उनले एमाले कास्कीले ११औं अधिवेशनले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न र सकिएन भने लोकतान्त्रिक पद्धतिबाट निर्वाचनमा गई नेर्तत्वसहित असल कमिटि बनाउन सुझाए ।

एमाले सचिव तथा गण्डकी इन्चार्ज गोकर्ण बिष्टले कहिलेकाहीँ अन्तरविरोध आउने गरेका भएपनि समस्याकाबीच अधिकतम सहमतिका उपाएहरु खोज्नुपर्ने बताए । अधिवेशनलाई संकेत गर्दै उनले कास्कीका नेता, कार्यकर्ता, प्रतिनिधिहरुले नयाँ नेतृत्व चयन गरेको सन्देश देशभर पुर्याउने खालको वातवरण बनाएर काम गर्न सुझाए ।

मुलुक अफ्ठेरोमा अवश्थामा गएपछि चुनौतीकाबीच एमाले सरकारमा गएको छ । अब हामी सर्बको बुझाई जनताको जीवन बदल्ने हुनुपर्छ । पार्टीको लक्ष्य नै यही हो । सचिव विष्टले भने, जनताको समस्या संवोधन गर्न सके अवश्य पनि मिसन २०८४ को लक्ष्य सफल हुनेछ ।

युवालाई विदेश पठाएर यहाँ कामदार छैनन् । भारतबाट कामदार आएर काम गरिरहेका र उनीहरुले करोडौं, अर्बौं रुपैया उल्टै लगेर गईरहेका छन् । अर्को नवउदारवादले अर्थतन्त्रलाई ध्वस्त बनाएको नाजुक अवस्थामा एमाले बलियो हुन अति आवश्यक भएको विष्टको भनाई थियो । उनले भने, यसो भयो भने समाजवदको आधार बलियो बन्छ ।

सचिव विष्टले हरेक प्रकारको अतिवादबाट मुक्त हुन आग्रह गरे । चुनावमा जाँदा वा पार्टीको काममा एकले अर्र्कोलाई सत्तुर देख्ने प्रवृत्ति त्यागेर सहमतिको बाटोलाई अंगाल्न आग्रह गरे ।

गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले कास्की जिल्ला धैर्यतापूर्वक संगठनलाई अगाडि बढाईरहेको र परिवर्तनको लागि शंखघोष गर्ने जिल्ला भएकोले कार्यकर्ता, नेताहरुमा सोहि अनुसारको जोश जाँगर हुनुपर्ने बताए । उनले सालिनता, सिष्टता, धैर्यतासंगै अगाडि बढ्न र सहमतिका साथ नेतृत्व चयनको नमूना देखाउन अनुरोध गरे ।

पार्टी सचिव, पूर्वमन्त्री तथा लुम्बिनी ईन्चार्ज पद्मा अर्यालले आन्दोलनको प्रमुख क्षेत्र कास्की रहेको, सबैको घेराबन्दिमा पर्दा पनि जितेर जवाफ दिएको अनुभवि क्षेत्र भएकोले मिसन २०८४ लाई हाँक्ने नेतृत्व चयन विश्वास व्यक्त गरिन् । उनले भनिन्, अब हामीले गुमेका सिट पनि ल्याउनु पर्छ र नयाँ थप्नुपर्छ ।

उद्घाटन कार्यक्रममा कास्की इन्चार्ज तथा स्थायी कमिटि सदस्य थममाया थापा, कास्की कास्की अध्यक्ष मन बहादुर गुरुङ, उपाध्यक्ष तेजनारायण अधिकारी, सचिव बैन बहादुर क्षेत्री लगायतले शुभकामना व्यक्त गर्दै सहमतिय प्रणालीबाट नेतृत्व चयन गरी उदाहरण प्रस्तुत गर्न शुभकामना व्यक्त गरे । क्षेत्रीको संचालनमा रहेको उद्घाटन सत्रमा जनकलाकार जविन दाहाल, तारापति सुवेदी लगायतले जनताका गीतहरु प्रस्तुत गरेका थिए ।

एमाले कास्कीको ११औं अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । बन्दसत्र आईतबार बिहान ८ वजेदेखि पोखरा सभागृहमा शुरु हुने प्रचार संयोजक दर्शन लामाले जानकारी दिए ।