कर्णालीका ५ जिल्लामा पोषणयुक्त चामल बिक्री सुरु

-



     सफल आवाज    
     चैत्र १३ गते २०८० मा प्रकाशित



सुर्खेत, १३ चैत । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुपोषणको समस्या भोगिरहेका कर्णालीका डोल्पा, कालीकोट, हुम्ला, मुगु र जुम्लामा ७३ हजार क्विन्टल पोषणयुक्त चामल बिक्री थालेको छ ।

हालसम्म हुम्लामा एक हजार नौ सय २० क्विन्टल, मुगुमा एक हजार एक सय ७३ दशमलव ५० क्विन्टल, जुम्लामा एक सय ३०, डोल्पामा पाँच सय ३५, कालीकोटमा एक सय ५० क्विन्टल गरी तीन हजार नौ सय आठ दशमलव पाँच क्विन्टल पोषणयुक्त चामल बिक्रीका लागि पठाइएको कम्पनीका कर्णाली प्रदेश निमित्त प्रमुख माधव मिश्रले जानकारी दिए।

आठवटा पौष्टिक तत्व मिलाएर राजापुर मिलबाट चामल उत्पादन भइरहेको छ । हाल सम्म आठ हजार चार सय ७६ दशमलव ९० क्विन्टल चामल उत्पादन भएको छ । ७३ हजार क्विन्टल चामलमा पौष्टिक तत्व मिलाएर उत्पादन गरिने उहाँले बताउनुभयो । । हुम्लामा विमानबाट चामल ढुवानी हुँदै आएको छ । निमित्त प्रमुख मिश्रका अनुसार साविकको कर्णालीमा मात्र पहिलो चरणमा भए पनि आउँदो आर्थिक वर्षमा कर्णालीका सबै जिल्लामा उक्त चामल बिक्री गरिने छ ।

दैनिक रूपमा खाइने चामलमा सामान्य विधिबाट भिटामिन तथा खनिज तत्व मिसाएर बनाइन्छ । हाल एक्स्टुजन विधिबाट चामलमा पौष्टिक तत्व स्तरोन्नति भइरहेको छ । यस विधिमा भिटामिन र खनिजको मिश्रणलाई चामलको पिठोमा मिलाइ एक्स्टुुजन मेसिनबाट चामलको जस्तै आकार र रङ हुनेगरी उत्पादन गरिन्छ । स्तरोन्नति गरिएको चामलमा आइरन, जिङ्क, भिटामिन ‘ए’, फोलिक एसिड, भिटामिन बी–१२, थायमिन, नियासिन, पाइरिडक्सिन मिसाएर तयार गरिन्छ ।

दोस्रो चरणमा अन्य जिल्लामा पनि वितरण गरिने भएको छ । खाद्यविज्ञका अनुसार पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल साथसाथै दाल, तरकारी र फलफूल, माछा, मासुु, दूधजन्य परिकार आदि मिलाएर उपयोग गरेमा शरीरलाई आवश्यक पौष्टिक तत्व प्राप्त हुन्छ ।

चामलको गुणस्तरसम्बन्धी मापदण्डअनुसार स्तरोन्नति गरिएको प्रतिकिलो चामलमा आइरनको मात्रा ३९ देखि ७२ मिलीग्राम, जिङ्क ३२ देखि ५९ मिलीग्राम, भिटामिन ‘ए’ शून्य दशमलव ८९ देखि दुई दशमलव २१, फोलिक एसिड शून्य दशमलव २४ देखि शून्य दशमलव ५९ र भिटामिन बी–१२ भने शून्य दशमलव ००७ देखि शून्य दशमलव ०२० मिलीग्राम हुनुपर्ने छ ।

पौष्टिक तत्व स्तरोन्नति गर्दा आइरनको स्रोतका लागि फेरिक पाइरोफोस्फेट, जिङ्क स्रोतका लागि जिङ्क अक्साइड, भिटामिन ‘ए’ को स्रोतका लागि रेटिनाइल पाल्मिटेट वा रेटिनाइल एसिटेट, फोलिक एसिड, भिटामिन बी–१२ को स्रोतका लागि साइनोकोबलामाइनजस्ता स्वरूपका यौगिकहरू थप गर्न सकिने मापदण्डमा उल्लेख छ ।

निकट भविष्यमा निजी क्षेत्रबाट पौष्टिक तत्व स्तरोन्नति गरिएको चामलको दाना नेपालमै उत्पादन गर्ने व्यवस्था मिलाइने बताइएको छ । नेपाल जनसङ्ख्याकी तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार ४३ प्रतिशत पाँच वर्षमुनिका बालबालिका, ३४ प्रतिशत रक्तअल्पताले गम्भीर जनस्वास्थ्य समस्याको सिकार भइरहेका छन् ।

नेपालमा विभिन्न प्रकारका कुुपोषणको दरमा सुधार आइरहेको भए पनि सुक्ष्म पोषक तत्वको कमीका कारण हुने कुपोषणको दर उच्च रहेको अध्ययनले देखाएको छ ।