एमडिएमएसमा ९२ करोड भ्रष्ट्राचार अभियाेगमा २ पूर्व अध्यक्षसहित २० जनाविरुद्ध मुद्दा दायर

-



     सफल आवाज    
     चैत्र १६ गते २०८० मा प्रकाशित



काठमाडौं, १६ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तमप्रसाद खनालसहितका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

मोबाइल म्यानेजमेन्ट सिष्टमको परामर्श सेवा खरिदमा अनियमितता भएको पाइएपछि आयोगले मुद्दा दायर गरेको हो । आयोगले तत्कालीन अध्यक्ष झा र खनाल, वरिष्ठ निर्देशक आनन्दराज खनाल, उपनिर्देशक मीनप्रसाद अर्याल, सहायक निर्देशक विनोदचन्द्र श्रेष्ठ, निर्देशक दिपेश आचार्य, उपनिर्देशक सुरेन्द्रलाल हाडा, उपनिर्देशक सूर्यप्रसाद लामिछाने, उपनिर्देशक अच्युतानन्द मिश्र रहेका छन् ।

यस्तै सहायक निर्देशकहरु रेवतीराम पन्थ,सन्दिप अधिकारी, विजयकुमार राय यादव, प्रतिक्षा पौडेल, नीराजन कोइरालाविरुद्ध रु ९१ करोड ९८ लाख ३० हजार आठ सय ८२ बराबरको बिगो दाबी गरिएको छ । उनीहरुविरुद्ध अमेरिकी डलरको विनिमयदर बमोजिम थप रु २३ करोड २० लाख ५९ हजार तीन सय १४ बराबरको बिगो दाबी गर्दै असूल उपर गर्नसमेत आयोगले माग दाबी गरेको छ ।

त्यस्तै न्युमेरा एम एडडीएन बीएचडी मलेसियाका कर्मचारीहरु, नमस्ते ग्लोबल कमन पीटीई सिङ्गापुरका निर्देशक कविन्द्रराज मल्ललगायतका व्यक्तिविरुद्ध पनि समान बिगो दाबी गरिएको छ । मोबाइल म्यानेजमेन्ट सिष्टम खरिदकार्य गर्दा पुष्ट्याइको आधारबिना बदनियत राखेको पाइएको छ ।

अस्वाभाविक ढङ्गले बढी काम लागत देखाई लागत अनुमान र बोलपत्र स्वीकृत नगराई काम गरेको पाइएको आयोगको दाबी छ । आरोपीविरुद्ध बिगो बमोजिमको कारबाहीको माग गर्दै आज मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।