नेपाललाई पर्यटकीय गन्तव्य बनाउन पर्यटन समिति र उद्योग वाणिज्य महासंघबीच छलफल

-



     सफल आवाज    
     चैत्र १६ गते २०८० मा प्रकाशित



काठमाडौं, १६ चैत। संसद्को अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका अध्यक्ष माननीय राज किशोर यादवले नेपालको पर्यटन र हवाई यातायात क्षेत्रलाई प्रवर्द्धन गर्ने विषयमा सम्बद्ध सरोकारवाला निकाय एक भएर अघि बढ्नुपर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ र उक्त समितिबीच सिंहदरबारमा भएको छलफलमा सभापति यादवले महासंघले पर्यटन विकासको लागि वास्तविक मुद्दाको उठान गरेको भन्दै सो विषयमा सम्बद्ध मन्त्रालय, विभाग र सचिवहरूसँग व्यापक छलफल गरेर खाका तयार गरिने बताए ।

महासंघको पर्यटन तथा हवाई यातायात समितिले देशमा पर्यटनको विकास गर्दै विदेशी मुद्रा भित्र्याएर अर्थतन्त्रको विकास गर्न संसदको उक्त समितिलाई ७ बुँदे सुझाव पेश गर्दै छलफल गरेको थियो । विशेषगरी महासंघले पर्यटनको दिगो विकासका लागि टास्कफोर्स गठन गर्नुपर्ने, भारतीय पर्यटकले नेपाल आउँदा ल्याउन पाउने नगदको सीमा बढाउनुपर्ने, तारे होटलमा लगाइएको लक्जरी कर हटाउनुपर्ने, हवाई खरिदमा लगाइएको मूल्य अभिवृद्धि कर हटाउनुपर्ने, विदेशी लगानी तथा प्रविधी हस्तान्तरण ऐनमा भएको रोयल्टीको व्यवस्थालाई संसोधन गर्नुपर्ने, होटललाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गिकरण गर्नुपर्नेजस्ता माग राखेको थियो ।

सभापति यादवले महासंघको उक्त मागहरु देशको हितमा भएको र यस विषयमा तत्काल सम्बद्ध निकायसँग छलफल गरि निकास दिने प्रतिवद्धता व्यक्त गरेका छन् । साथै यादवले छलफलका क्रममा प्रस्तुत भएका महत्वपूर्ण विषयहरूलाई स्वीकार गर्दै उनले पहिचान गरिएका चुनौतीहरूलाई उजागर गर्दै समितिले सावधानीपूर्वक मस्यौदा तयार गर्ने आश्वासन समेत दिएका छन् ।

छलफल कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन उद्योगमा देखिएका चुनौतिहरुलाई सरकारले सक्रिय रुपमा सम्बोधन गर्दै प्रभावकारी समाधान खोज्नुपर्ने बताए । साथै उनले यस क्षेत्र भित्रको विकास र नवप्रवर्तनलाई बढावा दिनुपर्ने भन्दै सोही अनुरुप नीति नियम संशोधन हुनुपर्ने बताए ।