बस बाटैमा ठडियो, चालक र सहचालक घाईते

-



     सफल आवाज    
     चैत्र १७ गते २०८० मा प्रकाशित



पोखरा, १७ चैत । सामान्यतया यातायातका साधानहरु दुर्घटना हुँदा कहिलेकाँही आश्चर्यका दृश्यहरु देख्न पनि पाईन्छ ।

गाडीहरु दुर्घटनामा पर्दा बाटोतल खसेको, क्षतबिक्षत् भएको वा सम्म ठाउँमा पल्टिदा पनि घोप्टो, चेप्तो वा उत्तानो परेको र कच्याककुचुक र आगलागि भएर ध्वस्त भएको देखिन्छ ।

तर पोखरा महानगरपालिका वडा नं २७ को अर्चलेमा आज भएको बस दुर्घटनाको दृश्यले सबैलाई अचम्ममा पार्यो । बसमा चालक र सहचालक रहेका थिए । उनीहरु घाइते भए ।

ग१ख ८६८० नम्बरको बस लेखानाथको अर्चलेमा दुर्घटनामा पर्दा स्तम्भ ठडिए झैं बाटोमै अडियाे। घाईते भएका चालक टिकाराम विक र सहचालक शालिमराम सुवेदीको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भईरहेको छ ।

जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक भानु शर्माले बाटोमा ठडिएको बसलाई करिब दुई घन्टामा हटाइएको बताए ।