सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई पोशाक र स्टेशनरी नबेच्न काठमाडौं महानगरकाे निर्देशन

-



     सफल आवाज    
     चैत्र २३ गते २०८० मा प्रकाशित



काठमाडौं, २३ चैत । काठमाडौं महानगर भित्रका सामुदायिक र संस्थागत विद्यालयहरूले अब पोशाक र स्टेशनरी बेच्न नपाउने भएका छन। काठमाडौं महानगरपालिकाको शिक्षा विभागले विद्यालयहरुलाई परिपत्र गर्दै यस्ताे नगर्न निर्देशन दिएको हाे ।

जारी परिपत्रमा शैक्षिक वर्ष २०८१ का लागि प्रयोग गरिने पाठ्यपुस्तक, पोशाक तथा स्टेशनरी विद्यालयबाटै विक्री गर्न र किन्न बाध्य बनाउन नपाउने भनी उल्लेख गरिएकाे छ ।

त्यसैगरि अब सामुदायिक विद्यालयहरुले पाठ्यक्रम विकास केन्द्रले तयार पारेका पाठ्यपुस्तक मात्र प्रयोग गर्न पाउनेछन् । अंग्रेजी माध्यमका पाठ्यपुस्तक प्रयोग गर्नु परेमा केन्द्रले अनुवाद गरेर प्रकाशन गरेका वा सूचीकृत भएका मात्र प्रयोग गर्नुपर्ने भनिएकाे छ। संस्थागत विद्यालयले पनि पाठ्यक्रम विकास केन्द्रले सूचीकृत गरेका पाठ्यसामग्री मात्र प्रयोग गर्नुपर्ने काठमाडौं महानगरपालिकाको शिक्षा विभागले बताएकाे छ ।

विद्यालयहरुले सुचना विपरीतकाे कार्य गरेमा शिक्षा ऐन, २०२८, शिक्षा नियमावली २०५९ , काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५, नियमावली २०७४ तथा प्रचलित कानुन बमोजिम कारबाही हुने समेत महानगरकाे परिपत्रमा उल्लेख गरिएकाे छ ।