मुनाबजार सिर्जनाचोकमा ‘पोखरामा ईलाम’ शुभारम्भ

- पाेखरा महानगरपालिका र मुनाबजारबीच बजारिकरणबारे सम्झौतामा हस्ताक्षर

-



     आरजू बिष्ट सल्यानी    
     वैशाख १ गते २०८१ मा प्रकाशित



पोखरा, १ वैशाख । मुना कृषि लिमिटेडले संचालन गरेको मुनाबजार पोखरा सिर्जनाचोकमा ईलामका गुणस्तरीय कृषि उपजहरुको बजारिकरणका लागि आजबाट ‘पोखरामा ईलाम’ बिक्री शुभारम्भ गरिएको छ ।

सो कार्यक्रमको प्रमुख अतिथि ईलाम नगरपालिकाकी उपमेयर विष्णु कुमारी लिम्बु र पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले संयुक्त रुपमा शुभारम्भ गरेका हुन् ।

८० वर्षिया उद्यमशिलताकी रोलमोडल ईलाम नगरपालिकाकी उपमेयर लिम्बुले पोखरा महानगरपालिकाकी मेयर गुरुङलाई ईलामे रैथाने कृषि उपजहरुरुको झोला हस्तान्तरण गरेर “पोखरामा ईलाम” शुभारम्भ गरेकी हुन् ।

ईलाम कृषिजन्य बस्तुहरुको लागि उर्बर क्षेत्र हो । किसानले अझैं पनि वास्तविक रुपमा सहि मूल्य र सजह वातावरण पाउन सकेका छैनन् । ईलाम चीया, कृषिजन्य बस्तु, दुग्धजन्य, मसला लगायतका रैथाने कृषि उपजहरुको उत्पादनको उर्बर भूमिको रुपमा परिचित रहेको छ ।

कर्याक्रमलाई संवोधन गर्दै पोखरा महानगरपालिकी उपमेयर गुरुङले भौगोलिक बनावट, प्राकृतिक छटा र कृषि उपजहरुको लागि पोखरा र ईलाम उस्तै रहेकाे बताइन् । उनले कृषि उपजहरुको बजारिकरण र किसानको आर्थिक अवस्था सुधारका लागि गम्भिर भएर लाग्नुपर्ने बताईन् ।

हामीले ईलामबाट धेरै सिक्नुपर्नेछ । पोखरासंग मुनाबजारले साईनाे जुराएको छ । अब हामीले आफ्नो ठाउँका रैथाने कृषि उपजहरुको बजारिकरण एकअर्काका ठाउँमा गर्नुपर्छ । अब पोखराको भगिनि सम्बन्ध ईलाम नगरपालिकासंग गर्नुपर्ने चाहाना जागेको बताईन् ।

हामीले यहाँबाट प्रख्यात हेम्जाको आलु, जेठो बुढो धान, खुदो, रुपमा, बेगनासतालको माछा, फापर, कागुनो लगायतका वस्तुहरुको बजारिकण गर्न सक्छौं । शहरमा जग्गा पहुँचको अभावको कारण कौसि खेतीलाई प्रवर्धन गरिएको र यसको नतिजा राम्रो रहेको बताईन्। उपमेयर गुरुङले भनिन्, हाम्रो सम्बन्ध गाँसिएको छ, अब यसलाई गाढा बनाएर जानुपर्छ ।

ईलाम नगरपालिकाकी उपमेयर विष्णु कुमारी लिम्बुले पोखरासंग स्थानिय कृषि उपजहरुको बिक्री शुभारम्भले नयाँ उर्जा थपिएको बताईन् । तपाँईहरु अब पोखरामा ईलामे रैथाले बस्तुहरुको प्रचार, प्रवर्धन र बिक्री गर्नुस् म ईलाममा पोखराका सामग्रीको प्रवर्धन गर्छु । लिम्बुले ईलाम नगरपालिकाले प्रवर्धन गरेको दुग्धजन्य पदार्थबाट बनेका लालिपप, कुराउनी मिठाई, छुर्पि, पुष्टकारी, घ्यू, नौनी, चीज, ग्रीन तथा ब्ल्याक टी, अलैची, बेसार, किनेमा, मकै लगायतका अन्य कृषि उपजहरुको जानकारी दिईन् ।

पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङलाई सल्लाह दिदैं उनले भनिन्, पोखरालाई अझैं सुन्दर बनाउनुस् । तालैतालको शहरमा तालको किनारामा छपक्कै असारे फूलहरु रोप्नुस्, बाटाका छेउछाउलाई सजाउनुस् पोखरा अझैं सुन्दर हुनेछ । सो अवसरमा उनले उनले इलामको ढाका कपडा र ढाकाबाट बनेका सामग्रीहरुको बजारिकरण र ५ प्रकारका स्कुसहरुको महत्वको बारे चर्चा र गरिन् ।

गण्डकी कृषि विकास निर्देशनालय पोखराका प्रमुख बासुदेव रेग्मीले ईलामकी ८० बर्षिया मेयर विष्णु ज्युको सक्रियताबाट गण्डकीले सिक्नुपर्छ । उहाँको उद्यमशिलताप्रतिको चेतना र शिक्षा हामीले सिक्नुपर्छ । हामी त धेरै अल्छि पो रहेछौं । ईलामबाट त्यहाँको रैथाने उत्पादनको बजारिकरणको लागि पोखरामै उपस्थित भएर सहजिकरण गर्नु चानचुने कुरो नभएको रेग्मीको भनाई थियो ।

रेग्मीले बाह्य बजारको कारण रैथाने उत्पादनको बजारिकण र उत्पादनमा पनि समस्या भएको बताए । उनले पोखरा महानगरलाई बचखुचेको जग्गालाई आवादीका लागि कायम राख्न के उपाए लगाउन सकिन्छ भन्ने बारेमा सोच्ने बेला आएको बताए ।

सुद्ध खानपान नहुनाले घर घरमा रोगले सताईरहेको यो बेलामा रैथाने कृषि उपजको लागि कर्म गर्नु जोखिम मोल्नु पनि हो, उनले भने निरोगी हुने त फेरि आग्र्यानिक खानपानले नै हो । हामीले जे जति काम गरिरहेका छौं, गुणस्तरमा ध्यान दिनुपर्छ र त्यसलाई ब्राण्डि गर्नुपर्छ । उनले कृषि कर्मका लागि तीनै तहका सरकार एक भएर लागे कृषि क्षेत्रको उत्थान हुनेमा शंका नहुने बताए ।

डा.लक्ष्मीकान्त पाण्डेले देशको कुना कुनामा पुगिरहेको मुनालाई सबैको साथ चाहिएको बताए । उनले सरकारबाट केहि हदसम्मको सहयोग भएको र यसलाई अझैं बढावा दिनुपर्ने आवश्यक्ता औंल्याए । हामी सबैले कृषकको साथी बनेर काम गर्नुपर्छ । यसो भयो भने बजारको खानाभन्दा सुद्ध खानपान गर्न पाईन्छ । जस्को कारण हामीलाई दीर्घायु बनाउछ ।

पोखरा महानगरपालिका आर्थिक महाशाखा प्रमुख मनोहर कडरियाले रैथाने उत्पादनको प्रयोगले किसानको संरक्षण हुने, स्वस्थ खानपान पनि पाईने र बजारलाई चलायमान बनाउने बताए । उनले भने, शहरमा बस्ति बढीरहेको छ । बजारको माग धान्न गाउँमा काम गर्नैपर्छ, किसानी कर्म हुनैपर्छ ।

अहिले मल्टिनेशनल कम्पनीको कारण स्थानिय बजार ध्वस्त हुने स्थिति रहेको भन्दै कडरियाले रैथाने कृषि उपज नेपाली संस्कार, संस्कृति र सभ्यतासंग जोडिएको विषय भएकोले संगसंगै लैजान आवश्यक भएको बताए । उनले मुना बजारको पहलमा ईलामसंग बजारिकरणको साझेदारिको शुरुआत भएको र यसलाई दीर्घ बनारहन सुझाए ।

श्रीकम्प्लेक्सका संस्थापक झलक श्रेष्ठले २५ वर्ष अगाडी आजैका दिन श्रीकम्प्लेक्स खुलेको संयोग जुरेको बताए । उनले कृषि बजारको प्रणाली सुधार गर्नुपर्ने र वस्तु निर्यात प्रणालीको विकास गर्न जरुरी भएको बताए ।

कार्यक्रममा चिउली पार्चे तमु समाजका अगुवा, भूतपूर्व गोरखा सैनिका प्रतिनिधि लगायतले रैथाने कृषि उपजको प्रवर्धनको जिम्मेवारि आफ्नो पनि भएको र आफ्नो ठाउँमा प्रचारमा सघाउने बताए ।

यसअघि कार्यक्रममा सहभागिलाई स्वागत गर्दै मुना कृषि लिमिटेडका अध्यक्ष तथा प्रबन्ध संचालक युवराज गुरुङले रैथाने खानाको फाइदा त छदैछ यसले नेपाली संस्कार र संस्कृतिको पनि प्रवर्धन हुनेमा जोड दिए । हाम्रो पहिचानसंग गासिएको कुरा पनि हो र स्वस्थताको श्रोत पनि हो ।

हाम्रै उत्पादन र बजारिकरणले बढावा पाउने हो भने हाम्रो पैसा बाहिर जानबाट जोगिन्छ । हामीले खाद्य संस्कृति, खाद्य सुरक्षा र विकासको पनि कुरा गरिरहेका छौं । अहिले ६८ जिल्लालाई जोड्न सकेका छौं । भविष्यमा ७७ वटै जिल्लाहरुको संभावना खोजिनेछ ।

कार्यक्रमको सहजिकरण गरेकी मुना बजारकी मुख्य प्रबन्धक सीतादेवी पाण्डेले रैथाने कृषि उपजहरुको बजारिकरण नेपाली स्वाभिमान, संस्कार, संस्कृतिसंग पनि जोडिएकोले उत्पादन र बजारिकरणले अस्तित्व जोगिने बताईन् । अहिले झनै विदेशबाट, मन्दिरको प्रसाद विदेशी, धजा पताका पनि विदेशी छन्, ल हेरौं त स्थिति कस्तो छ ? हामी कहाँ छौं ?

त्यसैले अब ढिलो नगरिकन रैथाने उत्पादनको बढावा, बजारिकरण र दायरालाई बढाउनुको विकल्प छैन उनले भनिन् । देशका साढे ५ दर्जन जिल्लाहरुमा गरिएको सोध, अनुसन्धानले रैथाने कृषि उपजहरुको उत्पादनदेखि बजारिकरणसम्मको काम सहज नभए पनि गर्न सकिन्छ भन्ने आफ्नो ठम्याई रहेको बताईन् ।

सम्झौतामा हस्ताक्षर

यसैबीच, पोखरा महानगरपालिका आर्थिक महाशाखा र मुना कृषि लिमिटेडबीच ५ वर्षका लागि कृषि उपजहरुको बजारिकरणका लागि सम्झौता भएको छ । सो अवधि सकिएपछि समयावधि थप्न सकिनेछ । सम्झौतामा महानगरपालिका आर्थिक शाखा प्रमुख मनोहर कडरिया र मुना कृषि लिमिटेडको तर्फबाट अध्यक्ष तथा प्रबन्ध सन्चालक युवराज गुरुङले हस्ताक्षर गरेका थिए ।