वीरगञ्ज महानगरले सङ्कलन गर्याे ३६ करोड राजस्व

-



     सफल आवाज    
     वैशाख ४ गते २०८१ मा प्रकाशित



वीरगञ्ज ४ वैशाख । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको ९ महिनामा ३६ करोड ७६ लाख ९ हजार ३ सय ९८ राजस्व सङ्कलन गरेको छ ।

महानगरका अनुसार चालु आवमा सम्पत्ति कर शीर्षकमा १२ करोड ७० लाख ४३ हजार सात सय ८२ सङ्कलन भएको छ । महानगरले दोस्रो धेरै घरबहाल करबाट ४ करोड ५५ लाख ७५ हजार ८ सय ६७ रहेको छ । महानगरले २४ वटा शीर्षकमा राजस्व सङ्कलन गर्दै आएको छ।

वीरगञ्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले महानगरले गत आवको ९ महिनाको तुलनामा चालु आवमा २ करोड ९५ लाख बढी राजस्व सङ्कलन गरेको बताए। “गत आवको ९ महिनाको तुलनामा यो आवमा राजस्व सङ्कलनमा सुधार देखिएको छ”, उनले भने।

गत आवको ९ महिनामा भने ३३ करोड ८० लाख ५४ हजार ३ सय ६० राजस्व सङ्कलन भएको थियो । वीरगञ्ज महानगरले गत आवभरिमा ५७ करोड १ लाख ७३ हजार २ सय १ राजस्व सङ्कलन गरेको थियो । त्यसैगरी महानगरले आव २०७८-७९ मा भने ५१ करोड २२ लाख २४ हजार ४ सय ९० राजस्व सङ्कलन गर्यो ।

वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले वीरगञ्जमा आयोजित सार्वजनिक कार्यक्रममा वीरगञ्जका ठूला उद्योगी व्यवसायीलाई घरबहाल कर स्थानीय सरकारलाई बुझाउन अनुरोध गरेका थिए ।

“नेपालको संविधानमा नै घरबहाल कर स्थानीय तहले सङ्कलन गर्ने भनिएको छ”, उनले भने, “ठूला उद्योगले घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा कर तिर्दा स्थानीय सरकारको राजस्वमा केही कमी आएको छ । त्यसैले घरबहाल कर स्थानीय सरकारलाई बुझाउन अनुरोध गर्दछु ।”

महानगरले चालु आव २०८०-८१ को लागि ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार बजेट विनियोजन गरेको थियो । विनियोजित बजेटमध्ये चालुतर्फ २ अर्ब ४८ करोड ८५ लाख ५ हजार र पुँजीगततर्फ ६८ करोड ८७ लाख १५ हजार छुट्याइएको थियो ।

महागरले बजेट तथा नीति कार्यक्रममा चालु आवमा आन्तरिक राजस्वबाट १ अर्ब २० करोड ४४ लाख ३० हजार सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो ।