अस्ताए साहित्यकार प्रकट पगेनी ‘शिव’

-



     सफल आवाज    
     वैशाख ४ गते २०८१ मा प्रकाशित



पोखरा, ४ वैशाख । गीतकार एवं गजलबार प्रकट पगेनी “शिव” को निधन भएको छ । जण्डिस र निमोनियाले ग्रसित पगेनीलाई उपचारका लागि मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा आज दिउँसो निधन भएको हो ।

अवस्था गम्भिर देखिएपछि भेन्टलेटरमा राखेर उपचार भईरहेकोमा उनको निधन भएको पोखरेली युवा सांस्कृति परिवारले जनाएको छ । उनको उपचारको लागि पोखरेली युवा सांस्कृतिक परिवारले संस्थाको तर्फबाट रुपैयाँ २५ हजार राखेर उपचार कोष स्थापना गरेको थियो ।

७० वर्षिय गीतकार पगेनीका श्रीमती, एक छोरा र एक छोरी छन् । उनी कास्कीको रुपा गाउँपालिका वडा नं ५ देउरालीका वासिन्दा हुन् । उनी चित्रकला, गीत, गजल, कविता, मुक्तक लेखनमा अब्बल थिए ।

नाटक लेखन, मञ्चन, डकुमेन्ट्रि र जैविक विविधता सुम्बन्धी लेखन र कार्यमा संलग्नता थियो । २०५८ साल ताका लिवर्डमा कार्यरत उनले केहि समय साहित्यमार्फत जैविक विविधतासम्वन्धी लेखन, वाचन र श्रष्टालाई गाउँ भ्रमणमा लैजाने गर्थे ।

२०६० को दशक पछि लिवर्डबाट बाहिरीएपछि बाटुलेचौर १६ स्थित प्रगति बोर्डिङ स्कुलमा संलग्न रहेका उनी पछिल्लो समय आफ्नै गाउँ देउरालीमा बस्दै आएका थिए ।

पगेनीका जूनको चिठी जुनालाई र यो मन कतै अल्झेको छ गीत संग्रह प्रकाशित छन् । साथै प्रणयवेदका ऋचाहरु गजल संग्रह र अक्षरभरि अक्षता कविता संग्रह प्रकाशित छन् ।

उनको आउँदा जाँदा दोबाटोमा गीत संग्रह प्रकाशोन्मुख रहेको छ उनको सर्वाधिक चर्चा बटुलेको गीत चुलेसिमा हो भने पछिल्लो चलेको तगारोमा रुमाल राखि हो ।

परिवारका अनुसार उनको बुधबार अन्त्यष्ठि गरिने भएको छ ।