बगरखेतीबाटै मनग्य कमाउँदै पौरखी किसान

-



     सफल आवाज    
     वैशाख ९ गते २०८१ मा प्रकाशित



दाङ, ९ वैशाख । राप्ती नदीका कारण बगरमा परिणत भएको लमही नगरपालिका –४ बलरामपुरको जमिन लामो समयसम्म प्रयोग हुनसकेको थिएन । तर पछिल्लो समय यहाँका पौरखी किसानले त्यही बगरमा ‘बगरखेती’ गरेर मनग्य आम्दानी गर्न थालेका छन् । कुनैबेला बालुवा नै बालुवा देखिने बगरमा यतिखेर हेर्दा खरवुजा र तरकारी खेती लटरम्म छ ।

यही खेतीबाट स्थानीय किसानले अहिले मनग्य आम्दानी गर्न थालेका हुन् । यसरी आम्दानी गर्नेमध्ये एक हुन् लमही नगरपालिका –४ सिम्रहवा निवासी ४९ वर्षीया सनकुमारी चौधरी । चौधरीले करिब दुई विघा बगरमा खरवुजा र केही जमिनमा भन्टा, लौका, करेला, वोडीलगायत बेमौसमी तरकारी खेती गरिरहेकी छन् । बीस वर्षअघि राप्ती नदीको बाढीले उठिबास भएकी चौधरी सोही स्थानमा बगरखेती गरेर परिवारको गर्जो टारिरहेको बताउछिन्।

त्यस समय यही बगरले उठिबास पारेको थियो सम्झिने चौधरी अहिले भने खुसी हुनुहुन्छ । “बीस वर्षअघि राप्ती नदीको बाढीले घरबार, अन्नपात, गाईवस्तु बगाएर बिचल्लीमा पारेको थियो । अहिले भने त्यही ठाउँमा बगरखेती गरेर घरव्यवहार चलाइरहेका छौँ । त्यहीको आम्दानीले छ जनाको परिवारको लालनपालन, छोराछोरीको शिक्षादिक्षा मात्रै होइन थोरै भए पनि बचत गर्न सफल भएका छौँ”, चौधरीले रासससँग भनिन्।

विगत १० वर्षदेखि बगरखेतीमा लागेको बताउने चौधरीले सुरूका केही वर्ष खासै लाभ नभए पनि पछिल्ला छ वर्षयता राम्रो आग्दानी गरिरहेको बताउछिन्। उनकाअनुसार एक मौसममा बगरखेतीबाट साढे तीन लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ । “बाढी पसेको दश वर्षसम्म त यहाँ बालुवा मात्रै थियो । पछि गाउँलेहरूले सल्लाह गरेर बगरखेती सुरू ग¥यौँ । अहिले बालुवा हेरेर पछुताउने अवस्था छैन”, चौधरीको भनाई छ,“बगरखेतीपछि मिहेनत गरेमा बगरमा पनि पैसा फलाउन सकिँदो रहेछ भन्ने सिकाई भएको छ ।”

सनमाया मात्रै होइन जमिन बगरमा परिणत भएपछि घरखर्च चलाउन ज्यालामजदूरी गर्न बाध्य स्थानीय ३५ वर्षीया रीता चौधरीको पनि आम्दानीको प्रमुख स्रोत नै यही बगरखेती भएको छ । उनले पनि एक विघा जमिनमा खरबुजा र केही जमिनमा बेमौसमी तरकारी खेति गरेर एक मौषममा रु एक लाखदेखि डेढ लाखसम्म बचत गर्ने गरेको बताइन्। उनले भनिन्, “खेतीयोग्य जमिन बगर भएपछि सुरुमा निकै समस्या भयो ।

अरुकहाँ ज्याला मजदूरी गरेर जीविको चलाउने दिन पनि आए । तर बगरखेती गर्न थालेपछि भने आफैँ उद्यमी बनेका छौँ । अहिले यहीँ खेतीको आम्दानीबाट घरपरिवारको लालनपालन, छोराछोरी पढाउन र केही बचत गर्न पाउँदा सफल भएका छौँ ।”लमही नगरपालिका–४ की ३७ वर्षीया माया चौधरीले एक विघा जमिनमा खरवुजा र एक विघामा तरकारी खेती गरेर एकै मौसममा डेढ लाखसम्म आम्दानी हुने गरेको बताउछिन्।

सनमाया, रीता र मायाजस्तै कुनै समय नदीले उठिबास लगाएपछि घरवास समस्यामा परेका यस ठाउँका करिब दुई सय किसानले बगरखेती गरेर जीविका चलाइरहेका छन् । त्यसले जीविकोपार्जनमा टेवा पुग्नुका साथै विगतको दुःख भुलाउन पनि सहज भएको छ । लमही नगरपालिका –४ बलरामपुरमा मात्रै होइन, राप्ती र गढवा गाउँपालिकाका विभिन्न स्थानका दुई हजारभन्दा बढी किसान बगरखेती गरेर आम्दानी गर्न सफल भएका उनीहरू नै बताउछन्।

राप्ती नदी आसपासका यि तीनवटै स्थानीय तहका बगर क्षेत्रलाई व्यक्तिगत र सामूहिकरूपमा गरी दुई हजारभन्दा बढी किसानले एक सय दुई समूह बनाएर उपयोग गरिरहेका स्थानीय कृषि बहुउद्देश्य सहकारी संस्थाको तथ्याङ्क छ । यही संस्थाले सुरूमा किसानलाई निःशुल्क तालिम र २५ प्रतिशत अनुदानमा बीउ तथा विना धितो ऋण पनि उलब्ध गराउँदै आएको थियो । लमही नगरपालिकाको कृषि शाखाकी गङगा चौधरीले हाल सो नगरपालिकाले बगरखेती गर्ने किसानलाई बीउमा ५० प्रतिशत अनुदान र निःशुल्क तालिम उपलब्ध गराउने गरेको जानकारी दिइन्।

गढवा गाउँपालिकाले भने किसानले उत्पादन गरेका कृषिउपजलाई बजारसम्म पुयाउन कृषि एम्बुलेन्स सञ्चालन गरिरहेको छ । तर एकीकृत योजना बनाएर स्थानीय तहलगायत तीनै तहका सरकाले सिँचाइ सुविधा, मलखाद, बीउ तथा बजारीकरणमा सहयोग गरे बगरखेतीबाट अझबढी लाभ लिन सकिने यहाँका किसानको बुझाई छ । “प्रचण्ड गर्मी छ । बालुवा नै बालुवा भएकाले सुख्खाबढी हुन्छ । तर नजिकै बोरिङ छैन ।

हाम्रो उत्पादन खपत हुने पर्याप्त बजार पनि छैन । त्यसैल सरकारले यी समस्या समाधान गरिदिए अझबढी मेहनत गर्थ्याैं”, उनीहरूले एकस्वर छ ।