सिटिजन्स बैंकद्वारा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक

-



     सफल आवाज    
     वैशाख १० गते २०८१ मा प्रकाशित



काठमाडाैं, १० वैशाख । सिटिजन्स बैंक इन्टरनेसनलले फोनपे सँग सहकार्य गरेर नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गरेको छ । एक समाराेहबीच सिटिजन्स बैंकका सिइओ गणेशराज पोखरेल र फोनपेका सिइओ दिवश कुमारबीच भर्चुअल क्रेडिट कार्ड संचालनबारे सम्झौता भएको हाे ।

बैंकका सिइओ पोखरेलले भर्चुअल क्रेडिट कार्डको सुरूवात गरेका थिए । भर्चुअल क्रेडिट कार्डबाट अब ग्राहकले सिटिजन्स मोबाइल बैंकिङ एपमार्फत सिधै आवेदन दिन पाउनेछन् । ग्राहकहरूले रूपैयाँ २० हजारदेखि २ लाख ५० हजारसम्मको क्रेडिट सुविधा पाउने भएका छन् ।

भर्चुअल क्रेडिट कार्डले  क्यूआर कोड स्क्यानबाट गरेर सामान गर्न सकिनेछ । यसमा ई.एम.आइको सुबिधा र ४५ दिनसम्म सजिलै कर्जा चुक्ता गर्ने विकल्प रहेकाे छ । कुल क्रेडिट कार्डको बक्यौताको १० प्रतिशतदेखि १०० प्रतिशतसम्म भुक्तानी गर्ने विकल्प रहेकाे छ ।

भर्चुअल क्रेडिट कार्ड पूर्ण डिजिटल रुपमा सञ्चालित कार्ड हो । मोबाइल बैंकिङबाट कार्ड पाइने र कारोबार गर्न सकिनेछ । बैंकका देशभर १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखारहित बैंकिङ्ग ईकाईहरु र १७ लाख २४ हजार ग्राहकहरू छन् । 

देशका ५५ जिल्लामा सेवा प्रवाह गर्दै आएको बैंकले थप ७ शाखाहरु विस्तार गर्ने र सेवालाई देशका ६० वटा जिल्लामा पुर्याउने लक्ष्य रहेकाे छ ।