सार्वजनिक ऋण व्यवस्थापन कार्यालयद्वारा साढे ३० अर्बको ट्रेजरी बिल जारी गरिदैं

-



     सफल आवाज    
     वैशाख १० गते २०८१ मा प्रकाशित



काठमाडौं, १० वैशाख । नेपाल सरकार, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ३० अर्ब ४९ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने जानकारी गराएकाे छ । यसमा २० अर्ब ४९ करोडको ट्रेजरी बिल नविकरण गरिने भएकाे छ । १० अर्बको नयाँ ट्रेजरी बिल जारी हुनेछ । 

भाेलि मंगलबार जारी गरिने साे ट्रेजरी बिलकाे लागि आज अपरान्ह ३ बजे बोलकबोल हुँदैछ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २८ दिनको लागि रूपैयाँ ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण लागेकाे छ । यस्तै रूपैयाँ ५ अर्बको भने नयाँ ट्रेजरी बिल जारी हुने भएकाे छ । साे बिल जेठ ८ गते परिपक्व हुने भएकाे छ । 

९१ दिनको लागि रूपैयाँ ५ अर्ब ४९ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण तथा रूपैयाँ ५ अर्बको नयाँ ट्रेजरी बिल जारी हुनेछ। यो साउन ८ गते परिपक्व हुनेछ । १८२ दिनका लागि रूपैयाँ ६ अर्बकाे राबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यो कात्तिक ६ गते परिपक्व हुनेछ । १ वर्ष अवधिको रूपैयाँ ४ अर्ब बराबरको ट्रेजरी बिल नवीकरण गरिनेछ । यो बिल २०८२ वैशाख ९ गते परिपक्व हुनेछ ।

ट्रेजरी बिल भनेको के हो ?

ट्रेजरी बिल एक वर्षवा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।

भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ । 

सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक पनि यसमा सहभागी हुन सक्छन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य राख्नेलाई पहिलो प्राथमिकतामा राखिने भएकाे छ । र साेहि अनुसार आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड गरिन्छ ।