इलाममा एमालेका सुहाङ र बझाङमा कांग्रेसका अभिषेककाे अग्रता कायमै

-



     सफल आवाज    
     वैशाख १७ गते २०८१ मा प्रकाशित



इलाम, १७ वैशाख । प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनमा हालसम्म २० हजार पाँच सय ३६ मत गणना भइसकेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले मतान्तर बढाउँदै लगेका छन् । हालसम्मको मत गणनाअनुसार नेम्बाङले आठ हजार आठ सय ९८ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका डम्बरबहादुर खड्का ६ हजार दुई सय ८२ मतसहित दोस्रो स्थानमा छन्। त्यस्तै स्वतन्त्र उम्मेदवार डेकेन्द्रसिंह लिम्बू थेगिमले चार हजार ६ सय ३४ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले एक हजार तीन सय पाँच मत प्राप्त गरेका छन्।

अहिले माङसेबुङ गाउँपालिका–१ को मतगणना भइरहेको छ । इलाम–२ मा फाकफोकथुम गाउँपालिकाका सबै सात वटा वडा, चुलाचुली र माङसेबुङ गाउँपालिकाका सबै छ÷छ वडा, माई नगरपालिकाका ६, ७ र ८ वडा, देउमाई नगरपालिकाका सबै नौ वडा र इलाम नगरपालिकाका ११ वडा (१० बाहेक) गरी ४२ वडा पर्दछन् ।

एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । उपनिर्वाचनमा १२ राजनीतिक दल र सात स्वतन्त्रसहित १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। विसं २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा उक्त क्षेत्रमा एमालेका सुवासचन्द्र नेम्बाङ ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए ।

कांग्रेस उम्मेदवार खड्काले २९ हजार नौ सय ६ मत ल्याएका थिए । त्यसबेला कांग्रेसका खड्का तत्कालीन सत्ता गठबन्धनबाट माओवादी केन्द्र र एकीकृत समाजवादीको समेत साझा उम्मेदवार थिए । अहिले खड्का एक्लै चुनाव लड्दा एमालेका नेम्बाङलाई भने माओवादी केन्द्र, नेकपा र नेपाल परिवार दलको समर्थन रहेको छ ।

बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार सिंहको अग्रता कायमै

बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहको अग्रता कायमै रहेको छ । प्राप्त परिणामअनुसार कांग्रेसका उम्मेदवार सिंहले आठ हजार ६ सय २६ मत प्राप्त गरेका छन् ।

एमालेका दमनबहादुर भण्डारीले आठ हजार तीन सय ९६, नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढाले तीन हजार एक सय ५३ र नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले दुई हजार दुई सय ८७ मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए ।

हालसम्म जयपृथ्वी नगरपालिका, खप्तडछान्ना गाउँपालिका, छविसपाथिभेरा गाउँपालिका, सुर्मा गाउँपालिका, थलारा–९ र मस्टा गाउँपालिका–१ र २ को मत गणना सम्पन्न भएको छ ।