इलाम २ मा एमालेका सुहाङकाे अग्रता, कांग्रेसका खड्का ६ हजार ५०७ मतले पछि

-



     सफल आवाज    
     वैशाख १७ गते २०८१ मा प्रकाशित



काठमाडाैं, १७ वैशाख । इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य पदका लागि शनिबार भएकाे उपनिर्वाचनकाे मतगणना जारि रहेकाे छ । हालसम्मकाे प्राप्त मतपरिणाम अनुसार एमाले उम्मेदवार सुहाङ नेम्वाङले फराकिलाे अन्तरसहित अगाडी रहेका छन् ।

नेम्वाङले फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका, माङसेबुङ, माई नगरपालिका वडा नम्बर ६, ७, ८ र देउमाई नगरपालिका वडा नम्बर १, २, ३, ४, ५ ,६ ,७, ८ र इलाम नगरपालिका वडा नम्बर २ को मतगणना सकिदा १९ हजार ६९७ मत पाएका छन्। 

नेम्वाङका निकटतम प्रतिद्वन्दि नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले १३ हजार १९० मत प्राप्त गरेका छन् । नेम्वाङ खड्काभन्दा ६ हजार ५०७ मतान्तरसहित अगाडी रहेका छन्। गणना हुने मतकाे संख्या घट्दै गर्दा नेम्वाङले मतान्तर भने बढीरहेकाे छ ।

कांग्रेसका खड्कापछि मूढा चुनाव चिह्न लिएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमले ९ हजार ५१४ मत पाएका छन् । रास्वपाका उम्मेदवार मिलन लिम्बूले ३ हजार ३२३ मत पाएका छन्। 

इलाम- २ मा जम्मा ६९ हजार २८७ मत खसेको थियो। साे क्षेत्रमा २०७९ सालकाे चुनावमा एमालेका उम्मेदवार सुवास नेम्वाङले ३० हजार २० मत ल्याएर विजयी भएका थिए । उनका प्रतिष्पर्धी कांग्रेसका डम्बर खड्काले २९ हजार ९ सय ६ मत पाएका थिए । खड्का उक्त चुनावमा गठबन्धन दलहरूका साझा उम्मेदवार रहेका थिए।