आगामी बजेट-पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा केन्द्रित हुनुपर्छ : सांसदहरू

-



     सफल आवाज    
     वैशाख १८ गते २०८१ मा प्रकाशित



काठमाडौं, १८ वैशाख । आगामी आर्थिक वर्षको बजेट खेल पर्यटन, परम्परागत सीप विकास, बन्द भएका उद्योग सञ्चालन लगायतमा केन्द्रित हुनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।

राष्ट्रियसभा, विकास, आर्थिक मामिला तथा सुशासन समितिमा आज भएको पूर्व-बजेट छलफलसम्बन्धी प्रतिवेदन २०८१ मा सहभागी सांसदहरुले विदेश पलायन रोक्नुपर्ने, बजेट फर्छ्याेट, रैथाने बीउ तथा बिजनको संरक्षणलगायतका विषयमा ध्यानाकर्षण गराएका थिए ।

समितिकी सभापति कमला पन्तले धेरै मन्त्रालयले बजेट नै खर्च गर्न नसकेको बताइन्। उनले भनिन्, “धेरै मन्त्रालयहरुले बजेट खर्च गर्न सकेका छैनन् । तलब भत्ता र निर्माणमा मात्रै जोड दिएका छन् । जलवायु परिवर्तनदेखि सामाजिक सुरक्षा सम्मका बजेटको कुरा छ, सुशासनप्रति संवेदनशील नभएको भन्ने पनि आएको छ ।”

समितिका सचिव डा रोजनाथ पाण्डेले प्रतिवेदन प्रस्तुत गर्नुहुँदै सम्पूर्ण बजेट अनिवार्यरुपमा जलवायु, लैङ्गिक र दिगो विकास लक्ष्यअनुरुप समेटिनुपर्ने सुझाव दिए। प्रतिवेदनमा भनिएको छ, “दिगो विकास लक्ष्यअनुसार अनिवार्यरुपमा तीन तहका सरकारका बजेट कोडिङ नहुनु, भएको पनि औचित्यपूर्ण नहुनु, बजेट विनियोजन भएको अवस्थामा पनि खर्च हुन नसक्नु, अनाधिकृत रुपमा बजेट रकमान्तर गरी खर्च गर्नुजस्ता सरकारी तवरबाट बजेट अनुशासन पालना गरेको पाइएन ।”

पाण्डेले भने, “सरकारले वित्तीय व्यवस्थापन प्रभावकारी बनाउन बेरुजु फछ्र्योट, राजस्व असुली छानबिन र करका दायरा विस्तार गरी राजस्व वृद्धि गर्नेतर्फ कदम चाल्न जरुरी देखियो । बजेटको मिति नजिएकाले जति सक्दो छिटो छलफल गरी सुझाव पठाइहाल्नुपर्नेछ ।” प्रतिवेदनमा सुझाव दिँदै सांसद उर्मिला अर्यालले आगामी बजेटले उद्योग सबलीकरणमा जोड दिनुपर्ने बताइन्। उनले भनिन्, “लगानी सम्मेलनले धेरैजसो जलस्रोत, पयर्टन मात्र बढी समेटेको जस्तो लाग्यो ।

अहिले मुख्य कुरा बन्द भएका उद्योग सुरु गर्नुपर्नेछ । खर्च उन्मुख भयौँ तर प्रतिफलमा सजग हुन सकेका छैनाैं ।” सांसद कृष्णप्रसाद पौडेलले श्रमिकको सम्मान नभएकाले विदेश पलायन बढेको बताए। “श्रमको पञ्जीकरण छैन । ‘ब्रेन ड्रेन’ होइन ‘लेबर ड्रेन’ भइरहेको छ । व्यावसायिक प्रतिष्ठानले यस्तोश्रम शोषण गरिरहेका छन् । न्यूनतम ज्याला पाएका छैनन्”, उनले भने, “किन यहाँ बस्छन् त, भर्ना भएका विद्यार्थी ड्रपआउटको सङ्ख्या बढिरहेको छ । उनीहरुलाई टिकाउने अवस्था के छ, यसमा पनि सोच्नुपर्छ ।”

सांसद वामदेव गौतमले आफ्नै देशमा उत्पादन गर्ने वातावरण मिलाउन प्रोत्साहन गर्नुपर्ने बताए। उनले भने, “सामूहिक उत्पादनमा जोड दिनुपर्छ । निर्माण, उत्पादन, वैज्ञानिक खोजमा लाग्नुपर्छ ।” सांसद झक्कुप्रसाद सुवेदीले विकसित देशहरुले प्राथमिकता पत्ता लगाएर काम गरिरहेका र सफल भएको उदाहरण दिँदै भने, “हाम्रो प्राथमिकता के हो ? त्यसलाई पहिचान गर्न सक्नुपर्छ । ऊर्जामा धेरै गर्न सकिन्छ, यसले छिटो परिणाम दिन सक्छ ।”