एक अर्बको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै

-



     सफल आवाज    
     वैशाख २३ गते २०८१ मा प्रकाशित



काठमाडौं, २३ वैशाख । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र-२०८६ निष्काशन गर्ने भएको छ ।

आजदेखि बिक्री खुला गरिएको बचतपत्र खरिदका लागि आगामी जेठ २२ गतेसम्म आवेदन दिन सकिने र जेठ २९ गते निष्काशन हुनेछ । वैदेशिक रोजगारीमा सङ्लग्न नेपाली नागरिक वा निजको परिवारको सदस्य तथा गैर-आवासीय नेपालीले बचतपत्र खरिद गर्न सक्नेछन् ।

वार्षिक नौ प्रतिशत ब्याजदर रहने र अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गर्नेगरी ऋणपत्र ल्याइएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । घटीमा रु १० हजार र बढीमा रु १० हजारले भाग गर्दा निःशेष भाग जाने गरी बचतपत्र खरिद गर्न सकिनेछ ।

“यो बचतपत्र मुलुक बाहिर रोजगारीमा सङ्लग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको छ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपाली नागरिकले आफु वा आफ्नो परिवारको सदस्य (बुबा, आमा, श्रीमान्, श्रीमती, छोराछोरी मात्र) को नाममा खरिद गर्न सकिनेछ”, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले भनेको छ ।

बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनसमेत सकिनेछ । जुनसुकै समयमा दोस्रो बजारमार्फत् खरिदबिक्री गर्न मिल्ने जनाइएको छ ।

वैदेशिक रोजगार बचतपत्र भनेको के हो ?

मुलुकबाहिर रोजगारीमा संलग्न नेपाली नागरिक तथा विदेशमा बसोबास गर्ने गैरआवासीय नेपालीले मात्र खरिद गर्न पाउने सरकारी ऋणपत्रलाई ‘वैदेशिक रोजगार बचतपत्र’ भन्ने गरिन्छ । यस्तो बचतपत्र विदेशबाट र विदेशमा आर्जित रकम वैधानिक माध्यमबाट स्वदेश ल्याएको प्रमाण पेस गरेमा समेत खरिद गर्न सकिन्छ ।