
तनहुँ, २४ वैशाख । तनहुँको भीमाद नगरपालिका–६ का ३६ जना महिलाले सामूहिकरुपमा सरफ उद्योग सञ्चालन गरेका छन् । भीमादको मातृशिशु कल्याण आमासमूहमा आबद्ध महिलाले ‘मातृशक्ति’ नामको सरफ उद्योग सञ्चालन गरेर उदाहरण प्रस्तुत गरेका हुन् ।
महिलाले सामूहिकरुपमा सरफ उद्योग सञ्चालन गरेसँगै आत्मनिर्भरतर्फउन्मुख हुँदै गएको समूहका अध्यक्ष हरिमाया पौडेलले बताइन्। रु २५ हजारका दरले लगानी गरेर उद्योग सञ्चालन गरिएको उनले जानकारी दिइन् । “सुरुमा करिब रु २५ लाख लगानी भएको यस उद्योगमा नगरपालिकाले ७० प्रतिशत लगानी गरेको छ”, अध्यक्ष पौडेलले भनिन्, “३० प्रतिशत लगानी समूहका सदस्यले गरेका हौँ ।”
विसं २०५३ मा स्थापना भएको उक्त समूहको कोषमा रहेको रकमसहित प्रतिव्यक्ति रु २५ हजार लगानी गरेसँगै नगरपालिकाले सरफसम्बन्धी तालिम दिएपछि उद्योग सञ्चालनमा ल्याइएको उनको भनाइ छ । उद्योगमा सात जनाले रोजगारी पाएका छन् । काठमाडौँबाट कच्चा पदार्थ ल्याएर मेसिनमा प्रशोधन र प्याकेजिङ गरी बिक्रीवितरण गर्दै आएको समूहका सचिव सीता सुवेदीले बताइन्।
आयआर्जन वृद्धि, रोजगारी सिर्जना र आयात घटाउने उद्देश्यले उद्योग सञ्चालन गरेका हाैं”, उनले भनिन्, “भीमाद बजार र आसपासका क्षेत्रमा मागअनुसार सरफ उत्पादन गर्दै आएका छौँ । अहिले बजार पनि विस्तार गर्दै गएका छौँ ।” उनका अनुसार प्रतिकिलो रु दुई सय र रु तीन सय ५० गरी दुईथरीका सरफ उत्पादन हुँदै आएको छ । दुई वर्षअघिदेखि दर्ता प्रक्रिया अघि बढाइएकाेमा गत असोजदेखि सरफ उत्पादन थालिएको सचिव सुवेदीले जानकारी दिइन्।
“आधा किलोग्रामको प्याकेटमा पनि सरफ उत्पादन गर्ने योजना समूहको छ । घरायसी र व्यक्तिगत कामबाट बचेको समय उद्योगमा काम गर्ने व्यवस्था मिलाएका छौँ”, उनले भनिन्। सबै मिलेर काम गर्ने र बचत भएको पैसा बाँडफाँट गर्ने गरिएको सचिव सुवेदीले बताइन्। स्थानीयस्तरमा उत्पादन हुन थालेपछि कपडा धुनका लागि आवश्यकपर्ने सरफ आयातमा कमी आएको उनको भनाइ छ ।
उत्पादित सरफलाई ‘मातृशक्ति’ नाममा ब्रान्डिङ गरिएको उनले जानकारी दिइन्। भीमादका शालिकराम गहतराजले स्थानीयस्तरमा गुणस्तरीय सरफ उपलब्ध भएपछि बाहिरबाट किनेर ल्याउने प्रवृत्तिको अन्त्य भएको बताए। उनका अनुसार राम्रो, गुणस्तर र अन्य कम्पनीको तुलनामा सस्तो मूल्य भएकाले अधिकांशले यही सरफ प्रयोग गर्दै आएका छन् । यहाँ उत्पादित सरफ स्थानीयस्तरमा बढी माग र खपत हुने गरेको बताइएको छ ।








पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले… 




