१० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

-



     सफल आवाज    
     जेठ १ गते २०८१ मा प्रकाशित



काठमाडाैं, १ जेठ । नेपाल राष्ट्र बैंकले आज रूपैयाँ १० अर्ब तरलता खिच्न लागेकाे छ । बैंक तथा वित्तीय संस्थाबाट साे रकम खिच्न लागेकाे हाे ।

राष्ट्र बैंकले ७ दिने निक्षेप संकलन उपकरणमार्फत जेठ १ देखि जेठ ८ गतेसम्मका लागि १० अर्ब निक्षेप संकलन गर्न लागेको जनाएकाे छ ।

यसका लागि राष्ट्र बैंकबाट इजाजत पाएका क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलनको बोलकबोलमा सहभागि हुन पाउनेछन्।

बेालकबाेलमा सहभागि हुनेले रूपैयाँ १० करोड देखि माथि रूपैयाँ ५ करोडले भाग गर्दा निशेष भाग जाने रकम १० अर्बसम्म बोलकबाेल गर्न पाउनेछन् ।

राष्ट्र बैंकले संकलित हुने निक्षेपको साँवा तथा ब्याज जेठ ८ गते भुक्तान गर्ने भएकाे छ । सबैभन्दा कम बाेलकबोल गरिएको ब्याजलाई पहिलो प्राथमिकतामा राखीने भएकाे छ । त्यसपछि क्रम अनुसार बाेलिएकाे गरिएको रकम बाँडफाँड हुने भएकाे छ ।

बैंकका अनुसार यसरी निक्षेप संकलन गरिएको रकम तरलता रेसियाे तथा एसएलआरमा गणना गर्न पाइने छैन । अहिले बैंक तथा वित्तीय संस्थामा तरलता बढेकाे भएपनि कर्जा विस्तार राम्ररी भएकाे छैन । सिडि रेसियो ८०.५१ प्रतिशत हुँदा अन्तर बैंक ब्याजदर भने २.५६ प्रतिशत देखिएकाे छ ।