५० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक, आज बाेलकबाेल

-



     सफल आवाज    
     जेठ ३ गते २०८१ मा प्रकाशित



काठमाडौं, ३ जेठ । नेपाल राष्ट्र बैंकले बजारमा भएकाे अधिक तरलतालाई व्यवस्थापन गर्न जारी गर्ने ५० अर्बको निक्षेप संकलन उपकरणकाे आज बाेलकबाेल हुँदैछ ।

केन्द्रीय बैंकले आज बिहीबार जेठ ३ गते साे निक्षेप संकलन उपकरणको बोलकबोल हुने जानकारी गराएकाे हाे । बैंक तथा वित्तीय संस्थाहरुमा रहेकाे अधिक तरलतालाई खिच्नका लागि निक्षेप संकलनमार्फत् रूपैयाँ ५० अर्ब रुपैयाँ तान्न लागेकाे हाे ।

बोलकबोलमार्फत आवेदन दिन चाहने बैंक तथा वित्तीय संस्थाले आज अपरान्ह ३ बजेसम्म बोलकबोलका लागि आवेदन दिने समय रहेकाे छ ।

तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले समय समयमा निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । केन्द्रिय बैंकले ७ दिनका लागि साे उपकरण प्रयोग गर्न लागेको जनाएकाे हो ।

बैंकले साँवा र ब्याज भुक्तानी मिति जेठ १७ गते ताेकेकाे छ । ब्याजदर बोलकबोलबा ताेकिने भएकाे छ । सहभागि हुन चाहने बैंक तथा वित्तीय संस्थाहरुले घटीमा रूपैयाँ १० करोड र बढीमा ५ करोडले निःशेष भाग जाने निष्कासित रकम बराबरको माग गर्न पाउने भएकाछन् ।

निक्षेप संकलन बोलकबोल के हो ?

बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न नेपाल राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरणमध्ये निक्षेप सङ्कलन बोलकबोल पनि एक उपकरण हो ।

यसअन्तर्गत बोलकबोलको आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट नेपाल राष्ट्र बैंकले निक्षेप सङ्कलन गर्ने गर्दछ जसबाट तरलता प्रशोचन हुन जान्छ । बोलकबोल नगरिकन निक्षेप सङ्कलन दरमा निक्षेप सङ्कलन गर्न सकिने व्यवस्था पनि रहेको छ ।