रोजाइमा आकर्षक र टिकाउ बेतका फर्निचर

-



     सफल आवाज    
     जेठ ३ गते २०८१ मा प्रकाशित



धरान (सुनसरी), ३ जेठ । धरान उपमहानगरपालिका–१० का ७० वर्षे रामबहादुर तामाङ बेतका फर्निचर बनाएर बिक्री सुरु गरेको साढे चार दशक बित्यो । भारतको सिलगुढीसम्म पुगेर बेत ल्याउने र त्यसैबाट बनेका सामान बिक्रीबाट उनले घरखर्च चलाइरहेका छन् ।

“साढे चारदशक भयो, बेतका सामान बनाउने र बिक्री गर्दै आएको छु”, तामाङले भने, “यसको बजार अहिलेसम्म राम्रो छ । धरानमै बिक्री गर्दा पनि व्यापार फस्टाएको छ ।” उनका अनुसार अहिले पनि मासिक रु ३५ हजारसम्म मजाले बचाउन सकिन्छ । उनका अनुसार पछिल्लो समय बेतबाट बनेका डोका, डाला, नाङ्लोलगायतका सामानसँगै फर्निचरमा पनि मानिसको आकर्षण बढिरहेको छ ।

“पहिले डोका, डाला र नाङ्गो बढी बनाइथ्यो, अहिले भने बेतबाट बनेका फर्निचर सजावटका लागि आकर्षण र प्रयोगमा आरामदायी हुने भएकाले माग बढ्दो छ”, उनले भने। उनले धरान र आसपासमा पर्याप्त बेत नपाइने भएकाले सिलगुडीसम्म जानुपरेको सुनाए । “यहाँ पर्याप्त बेत नपाइने भएकाले भारतको सिलगुडीसम्म जानुपर्ने अवस्था छ, स्वदेशमै उत्पादन भए त्यहाँसम्म जानुपर्ने बाध्यता हुँदैनथ्यो र सामान पनि सस्तोमै उपलब्ध गराउन सकिन्थ्यो”, उनले सुनाए ।

उनले अहिले बेतबाट कोक्रो, मुडा, ¥याक, कुर्सीलगायतका सामग्री उत्पादन गर्दै आएका छन् । उनले बनाएका सामग्री विदेशीलेसमेत मन मराउने गरेको उनले सुनाए। “बेतबाट बनेका सामान पनि बलियासँगै आकर्षित हुन्छन्, सजावटमा पनि अत्यधिक प्रयोग हुन्छ”, उनले भने। उनका अनुसार अहिले एउटा सामानको रु तीन हजारदेखि रु पाँच हजार पाँच सयसम्ममा बिक्री हुने गरेको छ ।

सिलगुडीमा एक बण्डल बेत खरिद गर्दा रु तीन हजार पाँच सयसम्म पर्ने गरेको र त्यसबाट तीन वटासम्म सामान बनाउन पुग्ने भएकाले घाटा नहुने उनको भनाइ छ । उनले भने, “पसल आफ्नै घरमा भएकाले भाडा तिर्न पर्दैन, कुनै दिन व्यापार नभए पनि घाटा हुँदैन ।” रामबहादुर जस्तै धरान–११ का श्याम तामाङले पनि बेतका सामग्री बिक्रीबाटै खर्च धान्दै आएका छन् । पछिल्लो २५ वर्षयता फर्निचर व्यापारमा सक्रिय उनले सुरूमा काठका फर्निचरको व्यवसाय गरे पनि २० वर्षयता भने बेतका फर्निचरको व्यापार गर्दै आएका छन् । “बेतका फर्निचरको व्यवसाय राम्रो छ, मैले मासिक रु ५० देखि ६० हजार आम्दानी गर्दै आएको छु”, उनले भने ।

उनले अहिले २० देखि २५ वटा बेतको फर्निचर बिक्री गर्दै आएका छन्। बेतबाट बनेका सोफा, डाइनिङ टेबल, प्लङ, कुर्सी, मुडा, ह्याङ्गर, धाकी, गमलालगायत विभिन्न सजावटका सामान उनको पसलमा पाइन्छन् । बेतको सामग्री निर्माण गर्ने नेपाली कालीगढ नभएकाले पाँच जनासम्म भारतीय कालीगढ राखेको उनले बताए । उनका अनुसार बेतका फर्निचरको उत्पादन बढाउनसक्ने हो भने बजारको अभाव छैन । तर पर्याप्त बेत र कालीगढको अभावका कारण बजारमा मागअनुसारको सामग्री उपलब्ध गराउन नसकिएको उनको भनाइ छ ।

बेतको सामान १५ देखि २० वर्षसम्म सजिलै प्रयोग गर्न सकिने बताए। “नेपाली युवा रोजगारीको खोजीमा दिनहुँ विदेश पलायन भरहेका छन्, हातमा सीप भएमा नेपालमै व्यावसाय गरेर जीवनयापन गर्न सकिन्छ”, उनले भने। बेतका फर्निचरहरु हेर्दा आकर्षक देखिनका साथै हलुका हुने भएकाले यसको प्रयोग धेरैको रोजाइमा पर्ने गरेको उनको भनाइ छ । उनका अनुसार बेत विशेष गरी दुई प्रकारको प्रयोग हुने गर्छ । भारत सिलगुडीमा उत्पादन हुने बेत अलिक मोटो हुने गर्छ भने पूर्वी पहाडी भेगका जङ्गलमा पाइने बेत पातलो हुन्छन् । यस्ता बेतलाई पानी बेत भनिन्छ । बेत बाँस प्रजातिमा पर्छ । तर बाँसभन्दा बलियो हुने गर्छ ।