चालु आवकाे वैशाखसम्म मुलुकलाई पाैने १२ खर्बकाे व्यापार घाटा

-



     सफल आवाज    
     जेठ ८ गते २०८१ मा प्रकाशित



काठमाडौं, ८ जेठ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले रु ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख बराबर व्यापार घाटा व्यहोरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वैशाख मसान्तसम्ममा रु १३ खर्ब तीन अर्ब ३५ करोड ७० लाख बराबरको वस्तु आयात भएको थियो भने १ खर्ब २६ अर्ब १७ करोड ३५ लाख बराबरको निर्यात भएको थियो ।

विभागका अनुसार चालु आवको १० महिनामा रु १४ खर्ब २९ अर्ब ५३ करोड पाँच लाख बराबरको वैदेशिक व्यापार भएको छ । यो अवधिको कुल वैदेशिक व्यापार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई दशमलव ५० प्रतिशतले घटेको हो ।

गत आर्थिक वर्षको दश महिनाको तुलनामा आयात दुई दशमलव ३९ र निर्यात तीन दशमलव ६१ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा भारतसँग नेपालले रु सात खर्ब २९ अर्ब ७० करोड बराबरको व्यापार घाटा व्यहोरेको छ । भारतबाट रु आठ खर्ब १५ अर्ब ७२ करोडको आयात र रु ८६ अर्बको निर्यात भएको छ ।

नेपालसँग दोस्रो ठूलो वैदेशिक व्यापार छिमेकी मुलुक चीनसँगको व्यापार घाटा रु दुई खर्ब ३८ अर्ब ५५ करोड बराबर रहेको छ । दश महिनामा चीनसँग रु दुई खर्ब ४० अर्ब ८३ करोड बराबरको आयात हुँदा रु २२ अर्ब ७४ करोड बराबरको निर्यात भएको छ ।

वैशाख मसान्तसम्मको वैदेशिक व्यापारमा सबैभन्दा धेरै आयात पेट्रोलियम पदार्थको भएको छ । यो अवधिमा रु एक खर्ब १५ अर्ब ६७ करोड बराबरको डिजेल रु ५६ अर्ब ८० करोड बराबरको डिजेल र रु ४६ अर्ब बराबरको खाना पकाउने ग्यास आयात भएको छ । सोही अवधिमा रु २४ अर्ब एक करोड बराबरको मोबाइल फोन आयात भएको छ ।

नेपालले बढी निर्यात गरेका वस्तुमा कार्पेट रु आठ अर्ब ७९ करोड, अलैंची रु छ अर्ब ९१ करोड, फलामजन्य वस्तु रु पाँच अर्ब ५२ करोड र पाम आयल रु पाँच अर्ब ६० करोड बराबर छ ।