उदिपुर-भरतपुर २ सय २० केभी प्रसारण लाइन निर्माणमा ढिलाई

-



     सफल आवाज    
     जेठ ८ गते २०८१ मा प्रकाशित



लमजुङ, ८ जेठ । सामाजिक समस्या तथा जङ्गल कटानीलगायत कारणले निर्माणाधीन २ सय २० केभी उदिपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइनको काममा अत्यन्त ढिलाई भएकाे छ । ३ वर्षमा सम्पन्न गर्ने लक्ष्य निर्धारण भएको ३ अर्ब लागतको परियोजनाको काम ६ वर्षमा पनि पूरा भएको छैन।

हालसम्म ७० प्रतिशतमात्र निर्माण सम्पन्न भएको परियोजनाको उदिपुर–भरतपुर डिभिजन प्रमुख नारायण रेग्मीले बताए । २ सय २० केभी उदिपुर–मार्कीचोक–भरतपुर ‘डबल सर्किट’ प्रसारण लाइन निर्माण सन् २०१८ जनवरी १७ देखि थालिएकाेमा कारोना महामारी र बन कटानीलगायत कारणले पूरा हुन नसकेको उनको तर्क छ ।

विसं २०८१ साउन १५ गतेभित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनीको म्याद थपिएको छ । आयोजनाकाअनुसार लमजुङको उदिपुरबाट चितवनको भरतपुरसम्म ६७ किलोमिटर प्रसारण लाइन पुर्याउनका एक सय ९९ वटा टावर आवश्यक पर्नेछन् । हालसम्म एक सय २० टावरको फाउण्डेशन तयार भएको छ ।

गोरखा र तनहुँमा गरी १० हजार दुई सय २५ वटा रुख फडानीको तयारी भएको डिभिजन प्रमुख रेग्मीले बताउनुभयो । लमजुङमा निर्माण हुने ४५ वटा टावरमध्ये ३२ सम्पन्न भइसकेका छन् ।

मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रको स्वीच यार्डसम्म लाइन पुर्याउन छ किलोमिटरसम्म यही प्रसारण लाइन प्रयोग भएको छ । उदिपुरबाट मध्यमस्र्याङ्दीसम्मको छ किलोमिटर खण्डमा १७ वटा टावर छन् ।