कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया कार्यकक्षबाटै पक्राउ

- सामान्य सोधपुछ पनि नगरी पक्राउ गरेकाे भन्दै सर्वत्र बिराेध

-



     सफल आवाज    
     जेठ ८ गते २०८१ मा प्रकाशित



काठमाडौं, ८ जेठ। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थापाथलीस्थित कार्यकक्षबाटै प्रहरीले पक्राउ गरेको छ। 

उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मीको टोलीले अध्यक्ष सिरोहियालाई मंगलबार साँझ पक्राउ गरेको हो ।

गृहमन्त्री रवि लामिछानेले सहकारीको बचत अपचलन गरेको भनी प्रमाणसहितका समाचार कान्तिपुरले श्रृंखलाबद्ध रूपमा प्रकाशन प्रसारण गरिरहेपछि साे काे प्रतिशाेध स्वरूप अध्यक्ष सिरोहियालाई पक्राउ गरेकाे कान्तिपुर मिडिया ग्रुपले जनाएकाे छ ।

गृहमन्त्री लामिछानेले गत आइतबार पनि प्रतिनिधिसभामा समेत पत्रिकामा प्रकाशित समाचारका आधारमा संसदीय छानबिन समिति गठन नहुने उल्लेख गर्दै धम्क्याएका थिए । धनुषा जिल्ला प्रहरीमा परेको उजुरीबारे कुनै सोधपुछ नै नगरी सिरोहियालाइ पक्राउ गरेको भन्दै सर्वत्र बिराेध गरिएकाे छ ।

प्रकाउ लगत्तै सिरोहियाले सहकारीको वचत रकम हिनामिनाका विषयमा कान्तिपुरले निरन्तर रिपोर्टिङ गरेकाले गृहमन्त्री रवि लामिछानेले प्रतिशोधपूर्ण व्यवहार गरेको प्रतिक्रिया दिएका छन् ।

सिरोहियाले गृहमन्त्री लामिछानेविरुद्ध दुईवटा राहदानीको मुद्दा रहेको भन्दै उनीविरुद्ध पनि भोलि पक्राउ पुर्जी जारी हुने आशा रहेको बताए । उनलाई मंगलबार साँझ नै धनुषा लैजाने प्रहरीको भनाइ छ ।